विद्यालय बस खरिदका लागि जनता माध्यमिक विद्यालय गढवाको आर्थिक संकलन महाअभियान

आलोक भावुक
गढवा, १८ भदौ ।
जनता माध्यमिक विद्यालय गढवा -७, दाङले विद्यार्थीको सहज र सुरक्षित यातायात सुविधाका लागि विद्यालय बस खरिद गर्न “आर्थिक संकलन महाअभियान – २०८३” सञ्चालन गरेको छ।

विद्यालयले “हातेमालो गरौँ, विद्यार्थीको सुविधाका लागि विद्यालय बस खरिद गरौँ !” भन्ने नारासहित आर्थिक सहयोग संकलन अभियान अघि बढाएको हो। विद्यालयका अनुसार बस खरिद गरी विद्यार्थीलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

अभियानअन्तर्गत सहयोग गर्ने दातालाई सहयोग रकमअनुसार विभिन्न सम्मानको व्यवस्था गरिएको विद्यालयले जनाएको छ। रु. ५०० भन्दा माथि सहयोग गर्नेको नाम विद्यालयको निर्णय पुस्तिकामा उल्लेख गरी धन्यवाद ज्ञापन, रु. १ हजारभन्दा माथि सहयोग गर्नेको नाम विद्यालयको सूचना पाटीमा, रु. ५ हजारभन्दा माथि सहयोग गर्नेको नाम विद्यालयको वार्षिक स्मारिकामा समावेश गरिने जनाइएको छ।


त्यस्तै रु. १० हजारभन्दा माथि सहयोग गर्ने दातालाई विशेष सम्मान-पत्र प्रदान गरिनेछ भने रु. २५ हजारभन्दा माथि सहयोग गर्नेको नाम विद्यालय बसमा विशेष स्थानमा लेखिने विद्यालयले जनाएको छ।

विद्यालयले इच्छुक अभिभावक, पूर्वविद्यार्थी, समाजसेवी, व्यवसायी, संघ–संस्था तथा सम्पूर्ण शुभेच्छुकलाई अभियानमा सहयोग गरी विद्यालय बस खरिद गर्ने अभियान सफल बनाउन आग्रह गरेको छ।

विद्यालयले सानो सहयोगले पनि हजारौँ विद्यार्थीको भविष्य उज्ज्वल बनाउन योगदान पुग्ने भन्दै “आउनुहोस्, साथ दिऔँ ! विद्यालय बनाऔँ, भविष्य सँवारौँ !!” भन्ने अपिल गरेको छ।