काठमाडौं, १८ मंसिर ।
सीमित सिटमै भए पनि यसपटकको उपनिर्वाचन वास्तवमै जनमत परीक्षणको अवसर थियो, किनभने असाध्यै न्यून सिटमा बाहेक प्रमुख तीन दलहरू आ–आफ्नै बलमा मैदानमा थिए । नतिजा संघीय, प्रदेश र स्थानीय तहको शक्ति सन्तुलनभन्दा फरक देखिएको छ । ४४ सिटको परिणाम आउँदा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो स्थानमा छन् ।
संसद्का दुई ठुला दल कांग्रेस र एमालेबिच सत्तागठबन्धनपछि भएको पहिलो जनमत परीक्षणमा दुवै दलले अपेक्षित नतिजा निकाल्न सकेनन् । माओवादीले एमालेलाई उछिनेर बलियो उपस्थिति जनाएको छ । विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग तालमेल गरेको संसद्को तेस्रो शक्ति माओवादी एक्लै चुनावी प्रतिस्पर्धामा रहेका कारण उसमाथि धेरैको नजर थियो ।
तीन निर्विरोधबाहेक आइतबार ४१ स्थानका लागि भएको निर्वाचनमा सबैजसो दल ०७९ मा निर्वाचित ठाउँमा पराजित भएका छन् र नयाँ–नयाँ स्थानमा विजेता बनेका छन् । कांग्रेसले आठ सिटमा क्षति व्यहोरेको छ । एमालेले अपेक्षाअनुसार नतिजा निकाल्न सकेन । माओवादीले गत निर्वाचनमा भन्दा राम्रो नतिजा निकालेर आगामी निर्वाचनका लागि गठबन्धनविनै लड्न सकिने आत्मबल हासिल गरेको छ । माओवादी अहिले प्रमुख प्रतिपक्ष दल हो ।
काठमाडौं– १६ मा चुनाव जितेर रास्वपाले सहरी जनमत आफ्नो पक्षमा रहेको सन्देश प्रवाह गर्न सफल भएको छ । काठमाडौं– १६ मा कांग्रेस तेस्रो भएको छ । कीर्तिपुरको प्रतिस्पर्धामा माओवादी दोस्रो र एमाले तेस्रो भएका छन् । रौटहटमा एकीकृत समाजवादी, सप्तरीमा जसपा नेपाल, जुम्लामा नेमकिपा र झापामा स्वतन्त्र उम्मेदवारको जितले दुईदलीय प्रणालीको वकालत गरिरहेका नेताहरूलाई झट्का दिएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतगणनाको नतिजाअनुसार ४० पदमध्ये कांग्रेसले एक नगरपालिका प्रमुख र १६ वडाध्यक्षसहित १७ स्थानमा जितेको छ । कांग्रेस दुई जिसस प्रमुखमा निर्विरोध पनि भइसकेको छ । यसरी कांग्रेसले अहिलेसम्म कूल १९ स्थानमा जित निकालेको छ । जब कि पहिले कांग्रेसले जितेका २७ ठाउँमा निर्वाचन भएको थियो । समग्र परिणाममा कांग्रेस पहिलो दल बनेको छ ।
उपनिर्वाचनमा दोस्रो बनेको माओवादीले एक पालिका अध्यक्ष, तीन उपाध्यक्ष र ६ वडाध्यक्ष पद जितेको छ । थप एक वडामा निर्विरोध भएको माओवादीले सात वडामा प्रतिनिधित्व गर्नेछ । माओवादीले ११ स्थान जित निकाल्दै दोस्रो भएको छ । एक पालिका उपाध्यक्षमा माओवादीले अग्रता लिइरहेको छ । माओवादीले पहिले जितेका सात स्थानमा निर्वाचन भएको थियो ।
एमालेले एक पालिका अध्यक्ष, दुई उपाध्यक्ष र पाँच वडाध्यक्षसहित कुल सात स्थानमा जितेको छ । एमालेले यसअघि जितेका आठ वडामा निर्वाचन भएको थियो । तीन वडाध्यक्ष गुमाएको एमालेले एक पालिका अध्यक्ष र एक उपाध्यक्ष पाएको छ ।
जसपा नेपाल दुई, रास्वपा एक, एकीकृत समाजवादी एक, नेमकिपा एक र स्वतन्त्रले एक वडाध्यक्ष जितेका छन् ।
काठमाडौंको कीर्तिपुर नगरपालिकामा जित दोहोर्याए पनि कांग्रेसले अरू केही पालिका प्रमुख र उपप्रमुख भने गुमाएको छ । यसअघि जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखमा जित निकालेको कांग्रेसले यसपटक मत जोगाउन सकेन । त्यहाँ माओवादीकी देवका लामिछाने विजयी बनिन् । त्यस्तै, दैलेखको महाबु गाउँपालिका एमालेले खोस्यो भने अध्यक्षमा एमालेले बाजी मार्यो । उता, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा एमाले विजयी बन्यो । रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकामा कांग्रेसले उम्मेदवार नउठाई गठबन्धन बनाएर एमाले उम्मेदवारलाई समर्थन गर्यो । तर, माओवादी उम्मेदवार विजयी बने ।
एमालेले बोनसस्वरूप कांग्रेसले जितेको दैलेख महाबु गाउँपालिका अध्यक्षमा जंगबहादुर शाही र स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा सुलोचना भण्डारी विजयी बनिन् । यसअघि कांग्रेसले जितेको दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा पनि एमालेले जित निकालेको छ । झापाको कन्काई– ६, सुनसरीको गढी– ६, रौतहटको ईशनाथ– ७, गोरखाको गोरखा– ५, दैलेखको दुल्लु– १३, बझाङको सुर्मा– ४, डोल्पाको त्रिपुरासुन्दरी– ५ सहित यसअघि सातवटा वडा जितेकोमा दैलेखको दुल्लु– १३ मात्र एमालेले जित्न सफल भएको छ । तर, उसले माओवादीले जितेको महोत्तरी रामगोपालपुर– ७, कांग्रेसले जितेको ताप्लेजुङको सिरिजंगा– ३, ओखलढुंगाको मोलुङ– ५, कपिलवस्तुको शुद्धोधन– १ सहितका चारवटा नयाँ वडा जितेको छ ।
चुनावी परिणामबाट माओवादी भने उत्साहित देखिएको छ । उसले जितेका आठ स्थानमा निर्वाचन भएकोमा प्रमुख र उपप्रमुखसहित नौ स्थानमा जित हासिल गरेको छ । पुरानो आधार इलाका मानिने रोल्पा, रुकुम र जाजरकोटका केही वडा गुमाए पनि कांग्रेसको गढ मानिने मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जितेको तथा पश्चिम रुकुमको पुथा उत्तरगंगामा सत्तारूढ कांग्रेस–एमाले गठबन्धन भत्काएर माओवादीले जित हासिल गरेको छ । जाजरकोटको नलगाड उपप्रमुख पनि माओवादीले जितेको छ । माओवादीले यसअघि कांग्रेस र एमालेले जितेका केही वडामा जित निकालेर ६ वडाध्यक्ष पाएको छ ।
प्रदेशगत परिणाम हेर्दा कोशीमा एमाले र कांग्रेसले दुई–दुई वडा जितेको छ । माओवादीले गाउँपालिका अध्यक्ष र दुई वडा गरी तीन स्थान जितेको छ । एक वडामा अग्रता लिइरहेको छ । रास्वपाले समर्थन गरेको स्वतन्त्र उम्मेदवारले एक वडा जितेको छ । मधेशमा कांग्रेस र जसपा नेपाल दुई–दुई तथा एमाले, माओवादी र एकीकृत समाजवादीले एक–एक वडाध्यक्ष जितेका छन् ।
बागमतीमा कांग्रेसले एक नगरपालिका प्रमुख र तीन वडाध्यक्ष जितेको छ । माओवादीले एक वडाध्यक्ष जितेको छ भने एक पालिका उपाध्यक्षमा अग्रता लिइरहेको छ । रास्वपाले एक वडाध्यक्ष जितेको छ । गण्डकीमा माओवादी केन्द्रले रिक्त एक मात्र वडाध्यक्ष पद जितेको छ । लुम्बिनीमा कांग्रेसले तीन र एमालेले एक वडाध्यक्ष जितेको छ । माओवादीले एक पालिका उपाध्यक्ष जितेको छ ।
कर्णालीमा एमालेले गाउँपालिका अध्यक्ष र वडाध्यक्ष गरी दुई, कांग्रेसले दुई वडाध्यक्ष, माओवादी र नेमकिपाले एक–एक वडाध्यक्ष जितेको छ । एक पालिका उपाध्यक्षमा माओवादीले अग्रता लिइरहेको छ । सुदूरपश्चिममा कांग्रेसले चार वडाध्यक्ष जितेको छ । एमालेले एक उपाध्यक्ष जितेको छ ।
कसले कहाँ जिते ?
कोशी
ताप्लेजुङको सिरिजंघा– ३ मा एमालेकी कुमारी सावादेन ३५३ मतसहित निर्वाचित भएकी छिन् । माओवादीका अम्बी साउदेनले २५१, कांग्रेसका भीमकुमार लक्सम्बा २१८, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजेन्द्र लिम्बूले ५४ र रास्वपाका देवीप्रसाद पौडेलले सात मत प्राप्त गरेका छन् ।
झापाको कन्काई नगरपालिका– ६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४९३ मतसहित निर्वाचित भएका छन् । ओलीलाई रास्वपाको समर्थन थियो । यहाँ एमालेका तुलाराम बस्नेत ३५६, कांग्रेसका रामगोपाल ओली ३१७ र माओवादीका गणेशबहादुर थापाले २७७ मत प्राप्त गरेका छन् ।
तेह्रथुमको लालीगुराँस नगरपालिका– ८ मा कांग्रेसका नगेन्द्र लिम्बू ४४० मतसहित निर्वाचित भएका छन् । एमालेका बुद्धबहादुर लिम्बू ३६०, रास्वपाका सञ्जीव खड्का ३८, माओवादीका कुमार विश्वकर्माले २६ मत प्राप्त गरेका छन् ।
मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादीका नमोनारायण माझी ६ हजार ९६९ मतसहित निर्वाचित भएका छन् । कांग्रेसका बलराम सरदार थारू पाँच हजार ३३३, एमालेका तुलसीराम विश्वास चार हजार १५९, राप्रपाका दिनेशकुमार थन्दार ५५५ र रास्वपाका नवीनकुमार विश्वास खवासले ३७५ मत प्राप्त गरेका छन् ।
सुनसरीको गढी– ६ मा कांग्रेसका तेतर साहु ८१६ मतसहित निर्वाचित भएका छन् । माओवादीका कशेश्वर खेरवार ७९४, एमालेका सन्तु उराव ७७०, राप्रपाकी कविताकुमारी उराव ८७, रास्वपाका शशिकुमार साहु ३३, जनमतका सीताराम यादव ३० र नागरिक उन्मुक्तिका तेजनारायण मुसहरले एक मत प्राप्त गरेका छन् ।
ओखलढुंगाको मोलुङ– ५ मा एमालेका गंगाबहादुर तामाङ ३९९ मतसहित निर्वाचित भएका छन् । कांग्रेसका घनश्याम दाहाल १७७, रास्वपाका विष्णुप्रसाद पोखरेल १५१ र माओवादीका मानबहादुर सुनुवारले २३ मत प्राप्त गरेका छन् ।
ओखलढुंगा जिसस प्रमुखमा कांग्रेसका टेकराज भट्टराई निर्विरोध भइसकेका छन् ।
उदयपुरको त्रियुगा– १२ मा माओवादीका नवीनकुमार बान्तवा राई ९२३ मतसहित निर्वाचित भएका छन् । एमालेका लक्ष्मीनारायण चौधरी ६०८, कांग्रेसका सञ्जीव काफ्ले ३५९, एकीकृत समाजवादीकी निर्मला चौधरी ३१२ र रास्वपाका ध्रुवप्रसाद पोखरेलले २०२ मत प्राप्त गरेका छन् ।
उदयपुरको बेलका– ९ मा माओवादीका भरत घिमिरेले जित निकालेका छन् । घिमिरेले ५५९ मत पाउँदा एमालेका मोहन खड्काले ५२५, कांग्रेसका नवराज बस्नेतल ४०४, जसपाका राजकुमार राईले २०७ र रास्वपाका तेजमान विश्वकर्माले १२३ मत पाएका छन् ।
मधेश
सप्तरीको डाक्नेश्वरी– १ मा जसपा नेपालका धीरेन्द्रकुमार साह ६५२ मतसहित निर्वाचित भएका छन् । कांग्रेसकी भुलियादेवी थरुनी ५८७, एमालेका भगवानी साह २६५, राप्रपाका सतिशकुमार चौधरी १६५, जनमतका शैलेन्द्रकुमार साह ७४, माओवादीका प्रमोदकुमार सन्त २९, नागरिक उन्मुक्तिका अनरुदप्रसाद चौधरीले २० र स्वतन्त्र उम्मेदवार सुशील साहले दुई मत प्राप्त गरेका छन् ।
डाक्नेश्वरी– ४ मा पनि जसपा नेपालका देवेन्द्रप्रसाद यादव ३७२ मतसहित निर्वाचित भएका छन् । कांग्रेसका जोगिन्द्र राय अमात २७७, जनमतका उदयनारायण पण्डित २३१, एमालेका सञ्जयकुमार यादव ६८, माओवादीका भागवत राम नौ, राप्रपाका रामकुमार यादव ६, नागरिक उन्मुक्तिका शिवकुमार राम तीन र जसपाका रविन्द्र रायले तीन मत प्राप्त गरेका छन् ।
धनुषाको धनुषाधाम– १ मा माओवादीका सुनिल कापर केवट ६८४ मतसहित निर्वाचित भएका छन् । कांग्रेसका अशोककुमार मण्डल ६०२, जसपा नेपालका अजयकुमार यादव ४९९, एमालेका प्रमोद यादव ३६५, राप्रपाका रामदेवसिंह दनुवार २७, जनमतका कुशेश्वर मण्डल २५, रास्वपाका रामनरेश दासले १० मत प्राप्त गरेका छन् ।
महोत्तरीको रामगोपालपुर– २ मा एमालेका सकिबुल खाँ ६३१ मतसहित निर्वाचित भएका छन् । माओवादीकी आइतीकुमारी यादव ५३४, कांग्रेका मोहम्मद जनिफ खाँ २८४, जसपा नेपालका मो। नजामुद्दिन खान ३८, राजपा नेपालका राजेशकुमार यादव पाँच, रास्वपाका खुर्सैद खाँले चार मत प्राप्त गरेका छन् ।
रौतहटको ईशनाथ– ७ मा कांग्रेसका शेख अब्दुल खलिक ६२७ मतसहित निर्वाचित भएका छन् । एमालेका शेख अनवारले ५७५, एकीकृत समाजवादीका सदरे आलम ४५२, जनमत पार्टीका शेख जमिरुल हक १३५, माओवादीका शेख अमिरुल २४, राप्रपाका मदन साह १४, रास्वपाका शेख असराज ६ र जसपा नेपालका शेख अब्दुल अहदले चार मत प्राप्त गरेका छन् ।
रौतहटको गढीमाई– ८ मा एकीकृत समाजवादीका बजरंगीप्रसाद यादव ६५५ मतसहित निर्वाचित भएका छन् । एमालेकी जिउतीदेवी यादव ६३१, कांग्रेसका सुबोधकुमार यादव ६१७, जसपा नेपालका सन्देशप्रसाद यादव २५८, राष्ट्रिय मातृभूमि पार्टीका साहेवलाल राउत ४० र जनमतका सुरेन्द्र राउत कुर्मीले आठ मत प्राप्त गरेका छन् ।
रौतहटको राजपुर– ६ मा कांग्रेसका समसे आलम ७४४ मतसहित निर्वाचित भएका छन् । माओवादीका जिकरुलाह ४६३, एमालेका मोहम्मद नसिम अख्तर ४३१ र जनमतका क्यामुदिन धुनियाँले ४५ मत प्राप्त गरेका छन् ।
बागमती
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा लुंगेली मगर शेर्पा दुई हजार ८०५ मत ल्याएर विजयी भएकी छिन् । दोेस्रो स्थानमा रहेकी माओवादीकी निमलेकी शेर्पाले दुई हजार ६ सय मत पाइन् । कांग्रेसकी पासदिकी तामाङ ७९६ र रास्वपाकी गोमा श्रेष्ठले ६० मत प्राप्त गरेका छन् ।
नुवाकोटको ककनी– २ मा माओवादीका कृष्ण घिमिरे एक हजार ८५ मतसहित निर्वाचित भएका छन् । कांग्रेसका सूर्य तामाङ ५८७, एमालेका यमबहादुर लामा ३४१, रास्वपाका मंगलसिद्धि लामा तामाङले ८३ मत प्राप्त गरेका छन् ।
काठमाडौं– १६ मा रास्वपाकी रोजिना श्रेष्ठ एक हजार ५८४ मतसहित निर्वाचित भएकी छिन् । कांग्रेसका देवेन्द्र पाठक एक हजार ३०४, एमालेका लक्ष्मीरत्न तुलाधर एक हजार २१८, एकीकृत समाजवादीका मीनबहादुर मानन्धर ६५१, राप्रपाका श्यामकुमार श्रेष्ठले ६२२ मत प्राप्त गरेका छन् ।
कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोल पाँच हजार ३३४ मतसहित निर्वाचित भएका छन् । माओवादीका शिवशरण महर्जन चार हजार ५५५, एमालेका सुरेन्द्र मानन्धर चार हजार ३३७, स्वतन्त्र उम्मेदवार राजमान महर्जन दुई हजार ३६, कविकुमार महर्जन एक हजार ३१४, दिनेशकुमार अधिकारी एक हजार ४८ र राप्रपाका ध्रुव महर्जनले ९९५ मत प्राप्त गरेका छन् ।
कीर्तिपुर– १ मा कांग्रेसका इच्छाकुमार महर्जन ५६२ मतसहित वडाध्यक्ष निर्वाचित भएका छन् । एमालेका हर्ष महर्जन ४९८, माओवादीका सरलगोपाल महर्जन १७३, स्वतन्त्र उम्मेदवार विनोदकुमार महर्जन १३९, अर्जुन महर्जन ९८, कमला महर्जन ८३, राप्रपाका सुरेन्द्रप्रसाद उप्रेती ६४, नेमकिपाका कृष्णप्रसाद महर्जन ५०, जनमतका विकास प्रधानले सात मत प्राप्त गरेका छन् ।
कीर्तिपुर– ४ मा कांग्रेसका राजेन्द्र बानियाँ एक हजार १५५ मतसहित निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार पविता खड्का (अधिकारी) ८०६, माओवादीका नारायण विष्ट ४६० र एमालेका बद्री बुढाथोकीले ३८१ मत प्राप्त गरेका छन् ।
हेटौँडा– १२ मा कांग्रेसका अर्जुनप्रसाद तिवारी दुई हजार ६३ मतसहित निर्वाचित भएका छन् । माओवादीका रविकुमार प्रधान एक हजार ५६०, एमालेका राजेश नगरकोटी एक हजार ३९८, राप्रपाका प्रेमबहादुर भोलन १७८, रास्वपाका आशा विरबलले ८३ मत प्राप्त गरेका छन् ।
गण्डकी
गोरखाको गोरखा– ५ मा माओवादी केन्द्रका विष्णुबहादुर मगर ४८६ मतसहित निर्वाचित भएका छन् । कांग्रेसका भाइकाजी आले ४०२, एमालेका दुर्गामाया थापा राना ३४५, रास्वपाका मंगलबहादुर थापाले ८२ मत प्राप्त गरेका छन् ।
लुम्बिनी
गुल्मीको मुसीकोट– १ मा कांग्रेसका आनन्द श्रेष्ठ एक हजार १८४ मतसहित निर्वाचित भएका छन् । एमालेका दलबहादुर थापा ९३०, माओवादीका दुर्गाबहादुर विक १४३, रास्वपाका विकास थापाले ४३ मत प्राप्त गरेका छन् ।
कपिलवस्तुको शुद्धोधन– १ मा एमालेका मोहमद ताहिर मुसलमान एक हजार १५० मतसहित निर्वाचित भएका छन् । कांग्रेसका दिनेशकुमार यादव एक हजार ७६, जनमतका सीताराम पटेल कुर्मी ४२३, जसपा नेपालका रामबहादुर कुर्मी चौधरी ३४१, माओवादीका रफी मोहम्मद मुसलमान १३८, रास्वपाका अवधेशकुमार चौधरी ९२, नागरिक उन्मुक्तिका सूर्यकुमार चौधरीले ३३ मत प्राप्त गरेका छन् ।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा माओवादीकी नरपुरा बुढा तीन हजार ६२७ मतसहित निर्वाचित भएकी छिन् । कांग्रेसकी केशकुमारी तुलाचनले दुई हजार १२८ मत प्राप्त गरेकी छिन् । यहाँको वडा नम्बर २ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
रोल्पाको रुन्टीगढी– ४ मा कांग्रेसका भूपमणि पुन मगर ६४३ मतसहित निर्वाचित भएका छन् । एमालेका वेगम पुन ५३५, माओवादीका नरेशजंग सिंह ७०, राप्रपाका पहलबहादुर वली १०, रास्वपाका हिमबहादुर पुनले सात मत प्राप्त गरेका छन् ।
बर्दियाको ठाकुरबाबा– ४ मा कांग्रेसका अमिन थारू एक हजार ४३ मतसहित निर्वाचित भएका छन् । माओवादीका शेरबहादुर थारू ६७८, एमालेका विष्णुप्रसाद देवकोटा ३३७, नागरिक उन्मुक्तिका प्रीतिलाल थारू ७०, राप्रपाका रत्न ले ५२, रास्वपाका वासुदेव शर्माले १७ मत प्राप्त गरेका छन् ।
कर्णाली
डोल्पाको त्रिपुरासुन्दरी– ५ मा माओवादीका नरबहादुर झाँक्री १६१ मतसहित निर्वाचित भएका छन् । एमालेका नरबहादुर रोका ११६, कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत प्राप्त गरेका छन् ।
कालीकोटको तिलगुफा– ४ मा नेमकिपाका खड्गराज शाही १४३ मतसहित निर्वाचित भएका छन् । माओवादीकी नैशोभा शाही ११५, एमालेका ऐनबहादुर शाही ७८, कांग्रेसका पैलबहादुर शाही ४९, राप्रपाका गोगनबहादुर शाही १७, रास्वपाका गगन बमले पाँच मत प्राप्त गरेका छन् ।
हुम्लाको सार्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादीकी देवकी तिमल्सिनाले एक हजार ६३६ मतसहित निर्वाचित भएकी छिन् । कांग्रेसकी सविता बुढा एक हजार ५९३, एमालेकी जाना शाही एक हजार १३२ मत पाइन ।
जाजरकोटको कुसे– ७ मा कांग्रेसका खम्बबहादुर सिंह ३४७ मतसहित निर्वाचित भएका छन् । माओवादीका गोरखबहादुर नेपाली ३३२, एमालेका डम्बरबहादुर घर्ती २५२ र राप्रपाका लालबहादुर खत्रीले आठ मत प्राप्त गरेका छन् ।
दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही तीन हजार १२७ मतसहित निर्वाचित भएका छन् । कांग्रेसका झलकबहादुर भण्डारी दुई हजार ६७५, माओवादीका जंगबहादुर बराल मगर ८४२, रास्वपाका प्रकाशकुमार बुढाले ११२ मत प्राप्त गरेका छन् ।
दैलेखको दुल्लु– १३ मा एमालेका लालबहादुर शाही ५७४ मतसहित निर्वाचित भएका छन् । कांग्रेसका रेशमबहादुर शाही ५७१, माओवादीका ढकेन्द्रबहादुर शाही २७८, रास्वपाका रामबहादुर शाहीले ५३ मत प्राप्त गरेका छन् ।
रुकुम पश्चिमको सानीभेरी– ५ मा कांग्रेसका मोतीराम खत्री ५९० मतसहित निर्वाचित भएका छन् । माओवादी केन्द्रका जसीराम बस्नेतले ५३७ मत प्राप्त गरेका छन् ।
सुदूरपश्चिम
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेकी सुलोचनाकुमारी भण्डारी एक हजार ७४० मतसहित निर्वाचित भएकी छिन् । कांग्रेसकी पुल्तीसरा शाही एक हजार ४७४ र एकीकृत समाजवादीकी जवा शाहीले ५५३ मत प्राप्त गरिन् ।
बझाङको सुर्मा– ४ मा कांग्रेसका धीरेन्द्र पुजारा ६५७ मतसहित निर्वाचित भएका छन् । एमालेका लखिचन्द्र बोहरा ४८७ र माओवादीका पुस्करबहादुर बोहराले १७ मत प्राप्त गरेका छन् ।
डोटीको पूर्वीचौकी– ६ मा कांग्रेसका मोहन थापा ४६८ मतसहित निर्वाचित भएका छन् । एमालेका देवबहादुर थापा ३०१, रास्वपाकी जानकीकुमारी खड्का (कुँवर) ३१ र माओवादीका देवीलाल थापाले २६ मत प्राप्त गरेका छन् ।
दार्चुलाको दुहुँ– ५ मा कांग्रेसका धनसिंह कुँवर ३७६ मतसहित निर्वाचित भएका छन् । एमालेका मानसिंह बडाल ३५८, माओवादीका वीरसिंह कार्की ९८ र स्वतन्त्र उम्मेदवार लालबहादुर कुँवरले २५ मत प्राप्त गरेका छन् ।
कञ्चनपुरको भीमदत्त– ६ मा कांग्रेसका प्रकाश चन्द एक हजार १०७ मतसहित निर्वाचित भएका छन् । एमालेका बहादुर चन्द ४८७, राप्रपाका सुशीलकुमार भट्ट ३६९, एकीकृत समाजवादीका जितेन्द्रबहादुर चन्द २२५, रास्वपाका रामदत्त भट्ट २१८, स्वतन्त्र उम्मेदवार थानेश्वर लेखक १४२, नागरिक उन्मुक्तिका हरिश डगौरा १२७, माओवादीका नानाराम कोलीले १२२ मत प्राप्त गरेका छन् ।
कैलाली जिससको प्रमुखमा कांग्रेसकी टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएकी छिन् ।
लाइभदाङ । १८ मंसिर २०८१, मंगलवार ०९:२४ बजे