विश्व विद्यालयमा ताला लागेको एक महिना नाघ्यो, तर, खुलेन

तुलसीपुर,३० जेठ ।

दाङ बेलझुण्डी स्थित नेपाल संस्कृत विश्वविद्यालयमा ताला लगाएको एक महिना भन्दा बढि भएपनि अझै पनि ताला खुल्न सकेको छैन । नेपाल विद्यार्थी संघ,संस्कृत विश्वविद्यालय संघर्ष समितिले गएको बैशाख १९ गतेदेखि ताला लगाएको हो । विद्यापीठमा भएका समस्यालाई समाधानको माग गर्दै उपकुलपति समक्ष आग्रह गरे पनि माग पुरा नभएको भन्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको हो ।

तालाबन्दी गर्दै उनीहरुले तीन महिनाभित्र दिक्षान्त समारोहको आयोजना, छात्राबासको सटरबाट प्राप्त भाडाको ३० प्रतिशत रकम छात्राबासको विकासका लागि खर्च गर्न, महेश संस्कृत गुरुकुल र हरीहर गुरुकुल विद्यापीठ(सम्बन्धन प्राप्त)मा स्थायी प्राध्यापकहरुको दरबन्दी कायम हुनुपर्ने, विश्वविद्यालयमा कार्यरत आंशिक प्राध्यापकहरुको व्यवस्थापन गर्नुपर्ने, विद्यापीठमा प्रातकालीन र सायमकालीन कक्षाको व्यवस्थापन गर्न, कार्यकारी परीषद र विश्वविद्यालय पदाधिकारीमा लोकतान्त्रिक समुहको उपस्थिति गराउनुपर्नेलगायतका माग राख्दै उनीहरुले तालाबन्दी गरेका हुन् । त्यस्तै विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गर्नुपर्ने, स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति तोक्नुपर्ने, अबैज्ञानिक तवरले गरिएको उपप्राध्यापकको विज्ञापन खारेज गरी वैज्ञानिक अध्ययन गरी सर्वपक्षीय माग सम्बोधन गरी पुनः विज्ञापन हुनुपर्ने, सेवा आयोगको पुर्नगठन सहित भ्रष्ट पदाधिकारीको छानबिन गर्नुपर्ने, विश्वविद्यालयमा हुने आर्थिक अनियमितताको छानबिन गर्नुपर्नेलगायतका माग राखेका छन् ।


विश्वविद्यालयमा १२ बर्षदेखि दिक्षान्त समारोह हुन सकेको छैन । विश्वविद्यालयले केहि माग पुरा हुन सक्ने बताए पनि विद्यार्थी संघर्ष समितिले राखेका सबै मागहरुलाई विश्वविद्यालय स्वयमले चाहेर पनि पुरा गर्न नसक्ने विश्वविद्यालय उपकुलपति प्राध्यापक यादव लामिछानेले बताउनुभयो। वार्ताकालागि पदाधिकारीहरुको टोली काठमाडौं गएको छ । तर, अझै पनि उचित निकास आउन सकेको छैन ।

No description available.

No description available.