प्रत्येक स्वास्थ्य संस्थामा ल्याबको जनशक्ति

तुलसीपुर, १९ भदौ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले पालिकाभित्र रहेका स्वास्थ्य संस्थामा ल्याबको जनशक्ति व्यवस्थापन गरिने बताउनुभएको छ । जनस्वास्थ्य प्रवद्घर्धन शाखाको समीक्षात्मक कार्यक्रममा बोल्दै उहाँले ल्याबका लागि आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गरिने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि रहेका खड्काले ल्याबको जनशक्तिको अभावमा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सेवा दिनका लागि समस्या परेको भन्दै त्यसका लागि तत्काल बजेटको प्रबन्ध गरिने बताउनुभयो । उहाँले जनताको जीवनसंग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य सेवालाई पहिलो अनिवार्य सेवारुपमा विकास गरिने बताउनुभयो ।

कार्यक्रममा पालिकाभित्र रहेका पालिकाका २२ र अन्य १३ कूल ३५ वटा स्वास्थ्य संस्थाले एक वर्षभित्र गरेका प्रगतिका बारेमा जानकारी गराइएको थियो । पालिकामा मातृशिशु मृत्युदर शून्य रहेको छ । पालिकाभित्र तीन सय ९६ जना क्षयरोगीका बिरामी रहेका छन् ।


पालिकाभित्र दुई सय चार जना स्वास्थ्य स्वयम सेविका रहेका छन् । तुलसीपुर उपमहानगरपालिका भित्र रहेको सरकारी स्वास्थ्य शैयामा ७० शैया र नीजीमा एक सय पाँच वटा शैया रहेका छन् । पालिकाभित्र रहेका सात वटा स्वास्थ्य चौकीमा २४ घण्टे बर्थिङ सेन्टर रहेका छन् ।

सामाजिका विकास समितिका संयोजक मानबहादुर रावतको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन फोकल पर्सन विमल केसीले गर्नुभएको थियो ।