राष्ट्रिय निकुञ्ज भित्रका दाङका १० बस्ति स्थानान्तरण गर्न सिफारिश

दीपक बोहरा
दाङ,१२ फागुन ।
राष्ट्रिय निकुञ्ज भित्र पर्ने दाङको बबई गाउँपालिका भित्रका १० वटा बस्तिलाई स्थानान्तरण गर्न सिफारिश गरिएको छ । बाँके राष्ट्रिय निकुञ्ज भित्र पर्ने बबई गाउँपालिकाको वडा नं.१ र ७ का १० वटा बस्तिलाई निकुञ्ज भित्रबाट स्थानान्तरण गर्न सिफारिश गरिएको हो । गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले मंगलबार निकुञ्जलाई उक्त सिफारिश गरेका हुन् । पालिकाका किउरेनी, बन्चरे,बाटुले,गौजे, जीला, सिमलकुना,डाँडागाउँ, कप्ताने, जलजला, मलईलाई निकुञ्ज भित्रबाट अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुपर्ने अध्यक्ष खत्रीले बताए ।

त्यहाँका बस्तिहरुमा बाँके राष्ट्रिय निकुञ्ज घोषणा हुनु भन्दा ५० बर्ष भन्दा पहिले नै मानव बसोबास रहेको भएपनि हाल राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले नागरिकले निकै दुःख पाउने गरेको अध्यक्षको भनाई छ ।“त्यहाँ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकोले त्यस क्षेत्रका नागरिकाहरुलाई राष्ट्रिय निकुञ्जबाट आउने जंगली जनावरले मानवीय तथा घरपालुवा जनावर एवं बालीनालीमा क्षेति पु¥याउने गरेका छन्”,उनले भने“ तर, पनि त्यहाँका नागरिकलाई जोखिमयुक्त स्थानमा बसोबास गर्नुको विकल्प नरहेको र राष्ट्रिय निकुञ्ज भएकै कारणले तीन वटै तहका सरकारबाट पूर्वाधार विकासका लागि बजेटको व्यवस्था गर्न समेत नसक्दा राज्यले दिने सुविधाबाट बञ्चित भएको अबस्थामा त्यहाँबाट बस्ति सार्नुको विकल्प छैन ।”


सोही क्षेत्रमा बसोबास गर्ने पीडित नागरिकहरुको जिउधनको सुरक्षा र राज्यको तर्फबाट नागरिकलाई उपलव्ध गराईने सेवा, सुविधाको पहुँच पु¥याउन र राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रलाई पनि कायम राख्न बस्ति स्थानान्तरण गर्न आबश्यक रहेको अध्यक्ष खत्रीले बताए । पीडित नागरिक आक्रोसित हुँदै आगामी प्रतिनिधिसभाको निर्वाचनमा भोट नहाल्ने समेत निर्णय गरेका थिए । अहिले त्यहाँका नागरिकको विद्रोहले गर्दा कुनै पनि उम्मेदवार भोट माग्न समेत गएका छैनन् । विगतमा सोही ठाउँमा सबै जसो उम्मेदवारहरु भोट माग्न सोही ठाउँमा पुग्ने गर्थे । त्यहाँ सडक सञ्जालको पनि सहज पहुँच छैन । फोनले पनि राम्रोसंग काम गर्दैन । जंगली जनावरले बालीनाली खाइदिदा पनि त्यसलाई छुन पनि नमिल्ने अबस्था रहेकोछ ।