जनप्रतिनिधिहरुसँग स्नेही मिलन

सुशील बस्नेत
दाङ, १९ जेठ ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले तुलसीपुर नगरलाई सुन्दर बनाउन नगरबासीको सहयोगको अपेक्षा गर्नुभएको छ । ब्रह्माकुमारी राजयोग ईश्वरीय विश्वविद्यालय क्षेत्रीय कार्यालय तुलसीपुरले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत,बधाई र स्नेहीमिलन कार्यक्रममा नगरप्रमुख खड्काले बिगतका योजना तथा कार्यक्रम र जनप्रतिनिधिहरुले गरेको कामको अध्ययन बिश्लेषण र सिकाईबाट अगाडी बढ्दै जाने बताउनुभयो ।


उपमेयर स्यानी चौधरीले १८ बर्ष मुनिका नगरका सबै बालबालिकाहरुलाई स्कुल जाने वातावरण बनाउने पहिलो प्रयास हुने बताउनुभयो । उहाँले भन्नुभयो, शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकता रहेको छ । त्यसबाहेक फोहर व्यवस्थापन र ट्राफिक व्यवस्थापन चुनौतिका रुपमा रहेतापनि त्यस्को व्यवस्थापन गरिने बताउनुभयो । अनि मात्र तुलसीपुर आहा तुलसीपुर हुने बिचार राख्नुभयो । वडा नम्वर ६ का अध्यक्ष दुजमान भण्डारीले शान्ति र सद्भावपूर्ण नगरको परिकल्पना आफ्नो भएको बताउनुभयो ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले आहा र सुन्दर तुलसीपुर बनाउन जनप्रतिनिधि,नागरिक र कर्मचारी बिच प्रभाबकारी समन्वय हुनुपर्ने सुझाब दिनुभयो । ईश्वरीय विश्वविद्यालय क्षेत्रीय प्रमुख गिता दिदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य उर्मिलाले गर्नुभएको थियो भने सहजिकरण शिवलाल महतराले गर्नुभएको थियो । स्वागत,बधाई तथा स्नेही मिलन कार्यक्रममा बिभिन्न वडाका अध्यक्ष तथा सदस्यहरुको सहभागिता रहेको थियो ।