
दाङ, ०८ भदौ ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले तुलसीपुर–९, बेलुवामा खानेपानी ट्याङ्की निर्माण गर्न लागेको छ । करिब ३ लाख लिटर क्षमताको नयाँ खानेपानी ट्याङ्की निर्माण गर्न लागिएका हो । आफ्नो सेवा क्षेत्रमा खानेपानी आपूर्ति सहज बनाउन थप ट्याङ्की निर्माण प्रक्रिया अघि बढाएको अध्यक्ष यमकान्त भण्डारीले बताए ।
त्यसकालागि करिब १६ धुर जग्गा प्रचलित चलनचल्तीको मूल्य अनुसार खरिद गर्ने तयारी रहेको छ । आइतबार निर्माणस्थलमै सार्वजनिक सुनुवाइ आयोजना गरी खरिद प्रक्रियाबारे स्थानीयलाई जानकारी गराइएको हो । नयाँ ट्याङ्की निर्माण सम्पन्न भएपछि सो क्षेत्रका करिब १ हजार उपभोक्ता प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–९ का वडाध्यक्ष घनश्याम ढकालले जग्गा खरिद तथा ट्याङ्की निर्माणका क्रममा आउन सक्ने कानुनी तथा प्रशासनिक अड्चन सुलझाउन वडा कार्यालयले पूर्ण सहजीकरण गर्ने प्रतिबद्धता जनाए । यस्तै, वडा नम्बर ८ का वडाध्यक्ष धर्मराज वलीले खानेपानी समस्या समाधानका लागि संस्थाले लिएको तत्परताको प्रशंसा गरे ।
संस्थाका कानुनी सल्लाहकार विष्णुमणी धितालका अनुसार नेपाल सरकारको कानुन परिधिभित्र रहेर सञ्चालित यो संस्थाले नियमानुसार जग्गा खरिद गर्न पाउने प्रावधान रहेको छ ।
प्रशासन प्रमुख सुशील श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि बलिराम खत्री, नेपाली कांग्रेसका भागीराम थापा, श्रम संस्कृति पार्टीका टोपबहादुर महतारा, खानेपानी संस्थाका सिस्टम नम्बर ५ संयोजक रामवरण वैश्य, पार्सद कमला सापकोटा, समाजसेवी केशव सापकोटा, भद्रकाली टोल विकास समितिका अध्यक्ष द्रोणकुमार शर्मा तथा हातेमालो टोल विकास समितिका अध्यक्ष हिमलाल थापालगायतका वक्ताहरूले खानेपानीको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।



लाइभदाङ । ८ भाद्र २०८३, सोमबार १०:३४ बजे