स्वावलम्बन लघुवित्तद्वारा विद्यालयलाई वाटर डिस्पेन्सर सहयोग

प्रिया स्मृती गजमेर
रुकुम पश्चिम, ७ भदौ ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड मुसिकोट उपशाखाले बाफिकोट गाउँपालिका १० पुरानोठाँटीस्थित श्री मछिन्द्र आधारभूत विद्यालयलाई शुद्ध खानेपानीका लागि दुई वटा वाटर डिस्पेन्सर र दुई वटा जार सहयोग गरेको छ ।

संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आइतबार आयोजित कार्यक्रममा सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा बाफिकोट गाउँपालिकाका उपाध्यक्ष तारा बुढा केसीले विद्यालयलाई सहयोग गरेकोमा संस्थाप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा उपशाखा प्रमुख पदम विकले संस्थाले शिक्षा, स्वास्थ्य, खानेपानी तथा समुदायको आवश्यकताअनुसार विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले लघुवित्त संस्थाले गरिबी न्यूनीकरण तथा उद्यमशीलता विकासमा समेत सहयोग पुर्‍याउँदै आएको उल्लेख गर्दै राज्यले पनि लघुवित्त संस्थालाई सहज रूपमा काम गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।


संस्थाका कर्मचारी दिनेश शर्माले वित्तीय सेवासँगै समुदायको विकासमा संस्थाले योगदान दिँदै आएको बताउनुभयो । उहाँले लघुवित्तबारे फैलाइने भ्रमप्रति नागरिक सचेत हुनुपर्ने भन्दै ऋणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष पूर्णबहादुर नेपाली, शिक्षक अभिभावक संघका अध्यक्ष रमिता चन्द मल्ल, प्रधानाध्यापक पृथ्वीनारायण चन्दलगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम उपशाखा प्रमुख पदम विकको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष तारा बुढा केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण उपशाखा मुसिकोट रुकुमका वरिष्ठ सहायक गणेश गिरीले गर्नु भएको थियो ।