
तुलबहादुर कवँर मगर
दाङ, ६ भदौ ।
स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेको आधारमा दाङका १० स्थानीय तहमध्ये राप्ती गाउँपालिका प्रथम भएको छ। राप्ती गाउँपालिकालाई आर्थिक वर्ष २०८२/०८३ को स्वास्थ्य कार्यक्रमको मूल्याङ्कनमा जिल्लामै उत्कृष्ट घोषणा गरिएको हो।
स्वास्थ्य कार्यालय दाङको वार्षिक समीक्षा कार्यक्रममा राप्ती गाउँपालिकालाई प्रथम घोषणा गर्दै प्रमाणपत्र प्रदान गरिएको हो। दंगिशरण गाउँपालिका दोस्रो, गढवा गाउँपालिका तेस्रो र लमही नगरपालिका चौथो भएका छन्।
स्वास्थ्य कार्यक्रमका विभिन्न सूचकमा गरेको प्रगतिका आधारमा पालिकाहरूको मूल्याङ्कन गरिएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ। स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका स्वास्थ्य प्रशासक डा। अच्युत न्यौपानेको संयोजकत्वमा गठित तीन सदस्यीय टोलीले मूल्याङ्कन गरेको थियो।
खोप, सुरक्षित मातृत्व, पोषण, सरुवा रोग, नसर्ने रोगको परीक्षण, औलो लगायतका लक्षित स्वास्थ्य कार्यक्रमसहित १६ वटा सूचकलाई मूल्याङ्कनको आधार बनाइएको स्वास्थ्य कार्यालय दाङका प्रमुख टिवी गुरुङले बताउनुभयो।
राप्ती गाउँपालिका यसअघि लगातार चार पटक जिल्लामा प्रथम भएको थियो। उपलब्धिपछि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्वास्थ्य क्षेत्रमा प्राप्त यो सफलता समग्र राप्तीवासीको भएको बताउनु भएको छ।
“आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमका विभिन्न सूचकको मूल्याङ्कनमा राप्ती गाउँपालिका प्रथम हुन सफल भएकोमा अत्यन्तै गौरवान्वित र हर्षित छु,” अध्यक्ष विष्टले भन्नुभयो, “यो सफलता राप्तीवासीको हो। यो उपलब्धिले हामीलाई अझ जिम्मेवार बनाएको छ। अब स्वास्थ्य सेवाको गुणस्तरलाई अझ उचाइमा पुर्याउने हाम्रो संकल्प हो।” उहाँले राप्तीलाई उत्कृष्ट बनाउन निरन्तर सल्लाह, सुझाव, सहजीकरण र सहयोग गर्ने नेपाल सरकार, प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय तथा साझेदार संघ–संस्थाप्रति आभार व्यक्त गर्नु भएको छ।
अध्यक्ष विष्टले चिकित्सक, स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्य शाखाका कर्मचारी, सम्पूर्ण राष्ट्रसेवक, स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीको मेहनतको प्रशंसा गर्दै सेवाग्राहीप्रति समेत धन्यवाद व्यक्त गर्नु भएको छ।

“स्वास्थ्य क्षेत्रमा निरन्तर खटिनुहुने चिकित्सक, स्वास्थ्य शाखा प्रमुख, कर्मचारी, स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मी साथीहरू र हामीलाई विश्वास गरेर सेवा लिन आउनुहुने सेवाग्राही सबैलाई हार्दिक बधाई तथा उच्च सम्मान व्यक्त गर्दछु,” उहाँले भन्नुभयो।
उत्कृष्ट भएका पालिकाहरूलाई लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसी, स्वास्थ्य कार्यालय दाङका प्रमुख टिवी गुरुङ र डा। अच्युत न्यौपानेलगायतले प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा जिल्लाका १० वटै पालिकाले गत आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा गरेका काम, कार्यप्रगति तथा चुनौतीका विषयमा जानकारी गराएका थिए।
कार्यक्रममा स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले प्रदेश सरकार स्थानीय तहको स्वास्थ्य क्षेत्रमा आवश्यक सहयोग र सहजीकरण गर्न तत्पर रहेको बताउनुभयो।



लाइभदाङ । ६ भाद्र २०८३, शनिबार २१:५१ बजे