तुलसीपुरका एक कृषकको माछा पोखरीमा विष हालेर २२ हजार माछाका भुरा मारियो

दाङ, १४ जेठ ।

दाङको तुलसीपुर उपमहानगरपालिका १२ का एक कृषकको माछा फार्ममा बिष हालेर २२ हजार माछाको भुरा मारिएको छ । १४ कठ्ठामा रहेको माछा पोखरीमा शुक्रबार राति विष हालेर २२ हजार माछाको भुरा मारिएको कृषक मदन गरीले बताए । विहानै उठेर पोखरीमा हेर्न जाँदा सबै माछा मरेर तैरिएको अवस्थामा पाइएको उनले बताए । ‘हिजो राति ७ बजेसम्म पोखरीमा सबै माछा ठिक थिए,’ गिरीले भने, ‘बिहान उठ्दा सबै सखाप बनाइएछ ।’

पोखरीमा २ महिनाअघि मात्रै प्रतिगोटा ५ रुपैयाँका दरले एक लाख १५ हजार बढी मूल्यको माछाको भुरा हालिएको उनले बताए । ६ वर्षदेखि माछा पाल्दै आएका कृषक गिरीले यसअघि कहिल्यै यस्तो घटना नभएको सुनाए । ‘बादल लागेर धुम्म भयो भने अक्सिन नपुगेर स-साना माबादल लागेर धुम्म भयो भने अक्सिजन नपुगेर स-साना केही माछा पहिले पनि मर्थे, तर पोखरीमा भएका सबै माछा सखाप भएको यो पहिलो हो,’ गिरी भन्छन् ‘पोखरीका अन्य जलचरसमेत सखाप भएर मरेका कारण विष हालेकै जस्तो देखिन्छ ।’


घटनाबारे नगरपालिकाका कृषि चिकित्सक र प्रहरीलाई जानकारी गराइएको गिरीले बताए । घटनाबारे शंकास्पद कोही पनि हालसम्म पक्राउ तथा अनुसन्धानको दायरामा नआएको उनको भनाइ छ । कृषक गिरीका छिमेकी बामदेव गिरीकाअनुसार पोखरीमा पालिएको माछामा यस प्रकारको घटना घटाइएको यो पहिलो पटक भएको बताए ।

कृषकले लगानी र जोखिम मोलेर गरेको दुःखमा यस प्रकारको घटनाले हतोत्साही बनाएको गिरीले बताए । माछामा विष हालेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।