
प्रिया स्मृती गजमेर
देउखुरी,१२ असार ।
लमही नगरपालिकाका कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीले उद्घोषण कला व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा नेतृत्व क्षमता विकासको प्रभावकारी माध्यम भएको बताउनुभएको छ ।
लमही नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सुरु भएको पाँचदिने उद्घोषण तालिमको उद्घाटन कार्यक्रममा बोल्दै कार्यवाहक नगर प्रमुख योगीले उद्घोषण कला बोल्ने माध्यम मात्र नभई व्यक्तिलाई समाजमा स्थापित गर्ने सशक्त आधार भएको उल्लेख गर्नुभयो ।
उहाँले आफ्ना विचारलाई स्पष्ट, प्रभावकारी र मर्यादित ढंगले प्रस्तुत गर्न सक्ने क्षमता आजको आवश्यकता रहेको बताउँदै उद्घोषण कलाको ज्ञानले आत्मविश्वास बढाउनुका साथै व्यक्तिको समग्र व्यक्तित्व विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो । कुनै पनि औपचारिक वा अनौपचारिक कार्यक्रमको सफलतामा कुशल उद्घोषकको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै शब्द चयन, बोलीको मिठास र समय व्यवस्थापनले वक्ताको प्रभावकारिता निर्धारण गर्ने बताउनुभयो ।
कार्यवाहक नगर प्रमुख योगीले यस्ता सीपमूलक तालिमले युवा तथा सरोकारवालालाई भविष्यमा सक्षम नेतृत्वकर्ताका रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै नगरपालिकाले आगामी दिनमा पनि क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख मेनका खड्काले तालिमको उद्देश्य तथा विषयवस्तुबारे जानकारी गराउँदै सहभागीलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पत्रकार प्रिया स्मृती गजमेरले गर्नुभएको थियो ।
लमही नगरपालिकाका वडा नं. १ देखि ९ सम्मका करिब ३६ जना महिलाको सहभागिता रहेको उक्त पाँचदिने उद्घोषण तालिमका मुख्य प्रशिक्षक डा। सुदीप गौतम रहनुभएको छ । तालिममार्फत सहभागीहरूको प्रभावकारी सञ्चार, सार्वजनिक प्रस्तुति तथा उद्घोषणसम्बन्धी सीप विकास गर्ने लक्ष्य राखिएको छ ।



लाइभदाङ । १२ असार २०८३, शुक्रबार २०:१७ बजे