दाङमा उत्पादित मह बिकेन

दीपक बोहरा,
तुलसीपुर,१४ वैशाख ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित माधव शर्माले यस बर्ष २ टन मह उत्पादन गर्नुभएको छ । तर, त्यो मह विक्री भएको छैन । मह विक्री नभएपछि त्यतिकै थन्काएर राख्नु पर्ने बाध्यता छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ का किसान आशिष अधिकारीले पनि ६ टन मह उत्पादन गर्नुभएको थियो । तर,अहिलेसम्म उहाँले साढे २ टन मात्रै विक्री गर्नुभएको छ । साढे ३ टन मह थन्काएर राख्नु भएको छ । उहाँहरु त उदाहरण मात्रै हो । विगत दुई बर्षदेखि दाङमा उत्पादन भएको महले बजार पाउने गरेको छैन । भारतबाट आउने महले गर्दा जिल्लामा उत्पादन भएको महले बजार नपाउने गरेको किसानहरुको गुनासो छ ।“विना भान्सार भारतबाट मह आउछ”,किसान माधव शर्माले भन्नुभयो“ भारतबाट आउने कम गुणस्तरको महले हाम्रो मह विक्री हुने गरेको छैन ।”

विगतमा मौरीबाट राम्रै आम्दानी गर्ने गरेका किसानहरु पनि पछिल्लो समय यसप्रति भविष्य देख्न छाडेका छन् । कच्चा पदार्थ एक बर्षसम्म पनि नविग्रिने भएपछि जिल्लामा किसानहरु यो पेशामा आकर्षित थिए । तर, उत्पादित महले बजार नपाएपछि भने यो पेशाप्रति भबिष्य देख्न छोडेका किसान आशिष अधिकारीको भनाई छ ।“यो पेशाप्रति किसानहरु आकर्षित थिए, विगतमा राम्रै आम्दानी थियो”,उहाँले भन्नुभयो“तर, अहिले मह विक्री नभएपछि पलायन हुने अबस्था छ ।”
विक्री नभएपनि एक बर्षसम्म राख्न सकिन्छ, तर, त्यो भन्दा बढि समय भएमा मह विग्रिने समस्या हुन्छ । भारतबाट ल्याईएको मह पातलो हुने भएकाले उपभोक्ताहरुले पनि त्यही मह नै मन पराउछन् । तर, गुणस्तर मह जम्छ, भन्ने कुरा उपभोक्ताले नबुझ्दा त्यही भारतीय मह नै किन्ने गरेको किसानको गुनासो छ ।

जिल्लामा हाल ५ सय हाराहारीमा किसान छन् । तर, किसानको संख्या बढेपनि उत्पादित मह बजारीकरणमा ध्यान नदिनु सरकारको पनि कम्जोरी रहेको किसान अधिकारीले बताउनुभयो । दाङमा मात्रै करिब २ सय टन भन्दा बढि मह विक्री नभएको अधिकारीले बताउनुभयो ।


उपभोक्ताले पनि स्थानीय उत्पादन नचिन्दा जिल्लामा उत्पादन भएको महले बजार पाउन नसकेको तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताउनुभयो । “जडिबुटी, चरण क्षेत्रमा उत्पादन भएको महले बजार पाउन सकेको छैन”,उहाँले भन्नुभयो“भारतबाट आएको मह सस्तो पनि पाउने र नजम्ने भएकाले पनि उपभोक्तालाई त्यसलाई नै मन पराउने गर्नुहुन्छ, तर, यहाँ उत्पादन भएको गुणस्तर मह किन्नु हुन्न, त्यसले गर्दा पनि समस्या बनाएको छ ।”

मह विक्री नभएपछि किसानहरुका पनि जाँगर चलेका छैनन् । जिल्लाका किसानले मौरी चराउनकालागि बर्दिया, कैलाली लैजाने गर्थे । तर, मह विक्री नहुने भएपछि खर्च कटौति गर्दै यस बर्ष बाहिर नलगेकेको किसान शर्माले बताउनुभयो । किसानहरुको यही कारणले यस बर्ष जिल्लामा मह उत्पादन पनि घटेको छ । यो वर्ष जिल्लामा करिब तीन सय टन मह उत्पादन भएको छ । गत वर्ष जिल्लामा करिब चार सय ५० टन मह उत्पादन भएको थियो ।