राप्ती–४ मा दुना–टपरी उत्पादन सम्बन्धी सिप विकास तालिम सम्पन्न

तुलबहादुर कवँर मगर
मसुरिया, १२ असार ।
दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ पिपरखुट्टीमा सञ्चालन गरिएको दुना–टपरी उत्पादन सम्बन्धी सिप विकास तालिम बिहीबार सम्पन्न भएको छ।

स्थानीय महिलाहरूलाई स्वरोजगारमुखी सीप प्रदान गरी आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले राप्ती गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको तालिममा स्वराेजगार महिला समूहका १५ जना महिलाहरूको सहभागिता रहेको थियो।

पाँच दिनसम्म सञ्चालन भएको तालिममा सहभागीहरूले साललगायत विभिन्न प्रकारका पातहरूको प्रयोग गरी दुना–टपरी निर्माण गर्ने व्यावहारिक सीप हासिल गरेका छन्। साथै उत्पादनको गुणस्तर कायम गर्ने विधि, बजारीकरण तथा उद्यमशीलतासम्बन्धी आधारभूत जानकारीसमेत प्रदान गरिएको थियो।

समापन कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थानीय स्रोत र साधनको उपयोग गर्दै आत्मनिर्भर बन्न यस्ता सीपमूलक तालिम प्रभावकारी हुने बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारी आयआर्जनसँग जोडिन सहभागीहरूलाई आग्रह गर्नुभयो।

अध्यक्ष विष्टले गाउँपालिकाले तालिममा सहभागी महिलाहरूलाई दुना–टपरी उत्पादनका लागि आवश्यक मेसिनसमेत उपलब्ध गराएको जानकारी दिँदै उत्पादनलाई व्यवसायिक रूपमा विस्तार गर्न गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


कार्यक्रममा बोल्दै जुनकीरी यान्त्रीकरण कृषक समूह तथा राप्ती सामूहिक सिंचाई संघका अध्यक्ष हुकुम बहादुर बस्नेतले स्थानीय रूपमा उपलब्ध हुने कच्चा पदार्थको उपयोग गरी उत्पादनमुखी कार्यमा लाग्न सके ग्रामीण अर्थतन्त्र सुदृढ हुने बताउनुभयो। उहाँले महिलाहरूले तालिमबाट प्राप्त सीपलाई व्यवसायमा रूपान्तरण गर्न सके परिवारको आर्थिक अवस्था सुधारका साथै वातावरण संरक्षणमा समेत टेवा पुग्ने धारणा राख्नुभयो।

गाउँपालिकाले प्लास्टिकजन्य सामग्रीको प्रयोग न्यूनीकरण गरी वातावरणमैत्री सामग्रीको प्रयोग बढाउने तथा स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

तालिममा सहभागी महिलाहरूले प्राप्त सीपलाई व्यवसायिक रूपमा प्रयोग गरी स्वरोजगार बन्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

गाउँपालिकाले आगामी दिनमा पनि स्थानीय आवश्यकता अनुसार सीपमूलक तथा उद्यमशीलता विकासका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।