विकासमा तीनै तहका सरकारबीच सहकार्य हुन आबश्यक छ : मन्त्री शर्मा

दाङ, २० माघ । सञ्चार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले विकास निर्माणमा तीनै तहका सरकारहरुबीच सहकार्य हुन आबश्यक रहेको बताउनुभएको छ । माओवादी केन्द्रबाट निर्वाचित दाङका जनप्रतिनिधि तथा सचिबालयका कर्मचारीहरुसंग भएको तीनै तहका सरकारको कामको समीक्षा र आगामी योजनाबारे एक दिवसीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भन्नुभयो“स्थानीय, प्रदेश र संघ सरकारबीचको सहकार्यले नै विकासले गति लिन्छ ।”

मुलुक संघीयतामा गएसंगै गाउँ–गाउँमा जनताले अनुभूति गर्ने गरि विकासका गतिबिधि भइरहेको समेत बताउनुभयो । साथै आम सञ्चार सम्बन्धि पुराना ऐनलाई पुर्नसंरचना गर्ने गरि कानुनहरु बनाईरहेको उहाँले बताउनुभयो ।


साथै उहाँले दाङको चारलेन, टरिगाउँ विमानस्थल निर्माणकालागि बजेट नपरेको भनेर जनता आक्रोसित भएको भन्दै यसमा आक्रोसित नहुँन समेत आग्रह गर्नुभयो ।“चारलेनकालागि हामीले आन्तरिक काम गरिरहेका छौं, भारतीय एक्जिम बैंककै लगानीमा निर्माण हुन लागि अबको एक महिना भित्र टेन्डर भएर काम अघि बढ्छ”,उहाँले भन्नुभयो“एयरपोर्ट विस्तारकालागि पनि त्यतिकै पहल भएको छ ।”

त्यस अवसरमा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जनप्रतिनिधिले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । जनताले जिम्मा दिएर पठाएपछि त्यो जिम्मेवारीबाट पन्छिदा नै जनतामा बितृष्णा पैदा हुने गरेको बताउनुभयो । उहाँले जितेपछि पनि जनताको समस्यासंग एकाकार गर्नुपर्ने बताउनभुयो ।
कार्यक्रममा माओवादी केन्द्रका जिल्ला स्थित केन्द्रीय सदस्यहरु, प्रदेश सदस्यहरु, दाङका सबै पालिकाका पार्टी निकट जनप्रतिनिधिहरु सहभागि थिए ।