चाहना विपरीत यौनसम्पर्क राख्न खोजेको भन्दै दाङमा महिलाले गरिन श्रीमानको हत्या

दाङ, ३० वैशाख । दाङमा चाहाना विपरित यौन सम्पर्क राख्न खोजेको भन्दै एक महिलाले श्रीमानको हत्या गरेको खुलेको छ । दाङ बंगलाचुली गाउँपालिका वडा नं ७ हल्दीकी ५० वर्षीय संगीता सुनारी मगरले श्रीमानको हत्या गरेको प्रहरीले बताएको छ । ६५ वर्षीय श्रीमान पुनाराम सुनारी मगरलाई उनले सोमबार साँझ आफ्नै घरमा दाउराको चिर्पटले हानेको प्रहरीसमक्ष स्वीकार गरेकी हुन् ।

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक पुस्कर सिंह ऐरीका अनुसार सुनारीले श्रीमानको हत्या गरेको खबर त्यहाँबाट वडाध्यक्षले टेलिफोनमा खबर गरेपछि आफूहरु पुगेर उनलाई घरबाटै पक्राउ गरिएको हो । प्रहरीले उनलाई सोमबार राति प्रहरीले पक्राउ गरेर घटनाको थप अनुसन्धान गरिरहेको जनाएको उनले बताए ।

प्रहरीका अनुसार सोमबार साँझ दुवैजनाले सँगै बसेर गहुँको छ्याङ खाएका थिए । खाएपछि केही मात्तिएका श्रीमानले श्रीमतिलाई जिस्काएको र चाहना विपरीत सम्बन्धका लागि पटक पटक प्रयास गरेको दावी ती महिलाले गरेकी छन् ।


स्थानीय र प्रहरीका अनुसार संगीता र पुनाराम दुवैको दोस्रो विहे हो । संगीताका श्रीमान तथा पुनारामको श्रीमति बितेपछि केही समयअघि विवाह गरेका हुन् । तर बिहेपछि उनीहरु पटक पटक झगडा गरिरहन्थे । उनीहरुको ५ वर्षको छोरा र ११ वर्षको छोरी रहेका छन् ।

वंगलाचुली गाउँपालिका वडा नं ७ का अध्यक्ष गिरबहादुर थापाले दोस्रो बिहे गरेका दुवैजनाबीच पहिले पनि विवाद भएको र सोमबार राती यस्तो घटना भएको जानकारी दिए ।