तुलसीपुरमा तेलको मूल्य बढ्यो : बजारमा ३२५, उद्योगमा ४००

दीपक बोहरा
दाङ,१४ जेठ ।

दाङको तुलसीपुरमा तेलको मूल्य बढेको छ । एक हप्ता अघि लिटरको रु २६० पर्ने तेलको मूल्य अहिले रु. ३२५ बढेको छ । तेलको मूल्य बढेपछि उपभोक्ताहरु मारमा परेको छन् ।‘एक हप्ता अघि तोरीको तेलको मूल्य २६० सम्म पथ्र्यो’, उपभोक्ता हिरा सुनारले भने‘तर, अहिले ३२५ भन्दा बढि पर्ने गरेको छ ।’ तेलको मूल्य बृद्धि भएको स्वयं व्यबसायीहरुले पनि स्वीकार गर्ने गरेका छन्, भने उद्योगीहरुले पनि तेलको मूल्य बढेको बताउछन् ।

तोरीको मूल्य बढेका कारण अहिले तेलको मूल्य बढाउनु परेको तुलसीपुरको रोहिनी आयल मिलका सञ्चालक पर्वत बस्नेतले बताए । ‘अहिले तोरीको मूल्य क्वीन्टलमा १७ हजार पर्न जाने र त्यसबाट ४० लिटर मात्रै तेल निस्किन्छ’,उनले भने‘ त्यसैले गर्दा पनि अहिले तेलको मूल्य बढाउनु परेको छ ।’


तेलको मूल्य बढेपछि सरोकारवाला निकायले पनि चासो दिएका छन् । तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाले बजारका तेल मिल र बिभिन्न पसलहरुको अनुगमन गरेको छ । तुलसीपुर १२ टरिगाउँ स्थित गणपति आयल मिल, तुलसीपुर ५ स्थित धौलु रायस एण्ड आयल मिल, जय बुद्धि गणेश आयल एण्ड मोर्डना राइस मिल, रोहिनी आयल मिलमा अनुमगन गरेको हो । ति मध्ये गणपति र धौलुबाट तेलको नमूना समेत संकलन गरिएको छ । मिसावट भएको ब्यापक गुनासो आएपछि ति मिलबाट नमूना संकलन गरेर गुण्स्तर परीक्षण गर्न खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज पठाईएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा तुलसीपुरका प्रमुख रेखा शर्माले बताईन् ।

तुलसीपुरमा उद्योगहरुले तोरीको तेलको मूल्य चारसय रुपैया लिटर भन्ने गरेका छन्, तर, बजारमा पठाउने स्यवं उद्योगहरुको मूल्य ३५० रुपैँया हुने गरेकाले पनि बजारमा पठाउने तेलमा मिसावट भएको हुन सक्ने आशंका गरिएको छ । त्यसैले पनि उद्योगहरुबाट तोरी तेलको नमूना संकलन गरेर गुण्स्तर मापणकालागि नेपालगञ्ज पठाईएको हो । अहिले दाङमा जिल्लामै उत्पादन भएको तोरीले पुग्ने स्थिति भएपछि बिदेशबाट तोरी ल्याउने गरिएको छ । दाङ र बिदेशको तोरी मिसावट गरेर बजारमा तेल ल्याउने गरेको गुनासो ब्यापक आउने गरेको छ ।