तुलसीपुरको उपमेयरमा पहिलो पटक थारु महिला

दीपक बोहरा
दाङ,११ जेठ ।

दाङ तुलसीपुरमा पहिलो पटक थारु महिलाको प्रतिनिधित्व भएको छ । तुलसीपुर नगरपालिका हुँदा होस्, या उपमहानगरपालिका हुँदा पनि अहिलेसम्म थारुको प्रतिनिधित्व थिएन । २०४९ सालमा तुलसीपुरको प्रमुख र उपप्रमुखमा दुबै पुरुष थिए। प्रमुखमा शंकर प्रसाद आचार्य थिए, भने उपप्रमुखाम प्रदीपबहादुर श्रेष्ठ थिए ।

त्यतिबेला दुबै पद काँग्रेसले जितेको थियो । त्यस्तै २०५४ सालमा मेयर पदमा एमालेका ढुण्डिराज लामिछाने थिए भने, उपप्रमुखमा एमालेकै घनश्याम पाण्डे थिए । पाण्डे २०७४ सालको निर्वाचनमा प्रमुखमा निर्वाचित भएका थिए । त्यस्तै उपप्रमुखमा एमालेकै माया आचार्य निर्वाचित भएका थिए ।

अहिलेको निर्वाचनबाट भने तुलसीपुरले थारु महिला पाएको छ । उपप्रमुखमा स्यानी चौधरी निर्वाचित भएसंगै पहिलो पटक उपप्रमुख पदमा थारु महिला पाएको हो । नीति निर्माण तहमा थारु महिला पुगेका भनेको थारु समुदायकालागि सकारात्मक पक्ष भएको नवनिर्वाचित उपमेयर चौधरीले बताईन् ।‘तुलसीपुर थारु समुदायको बाहुल्यता भएको ठाउँ हो’,उनले भनिन्‘ तर,अहिलेसम्म प्रमुख, उपप्रमुखमा थारु महिलाको प्रतिनिधित्व हुन सकेको थिएन ।’

को हुन्, स्यानी ?
‘बच्चाहरु सडकहरु हिडिरहेका हुन्छन् । भोक तिर्खाले उनीहरुको सीमा नाघी सकेको हुन्छ । के खाउ, के गरौं भइरहेको हुन्छ । नजिकै कुकुरले फालेको भात खाईरहेको हुन्छ, बच्चाहरु पनि त्यही भात खाँदै गरेका हुन्छन् ।’ यो दृष्य स्यानी चौधरीले देख्छिन् । अनि उनका आँखा रसाउछन्, र, सोच्छिन्, यस्ता बालबालिकाहरुलाई मैले पाल्छु । न त राज्यको सहयोग, न त अन्य कुनै निकायकै सहयोग लिइन । सिर्फ आफ्नै लगानीमा दिदी घर संस्था दर्ता गरिन् । त्यस्ता बालिबालिकालाई आश्रय गर्ने ठाउँ दिईन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ डुम्रीगाउँ स्थित आफ्नै घरमा उनले उक्त संस्था सञ्चालनमा ल्याएर साहारा विहनी बनेका, सडकमा भौतारिएर हिड्ने बालबालिकालाई आश्रय दिदै आएकी छिन् ।


उनले आफ्नै कमाईबाट बालबालिकाहरुलाई पालन पोषण गर्न थालिन् ।‘मेरा छोराछोरी पनि छैनन्’,उनले भने‘तर, मलाई छोराछोरीको कुनै अभाबको महसुस उनीहरुले गर्न दिएका छैनन्, उनीहरुलाई नै छोराछोरी जसरी पालेकी छु ।’ उहिले उनीसंग ३० बालबालिका छन् । पहिले डुम्रीगाउँमा मात्रै उनीहरुलाई राख्ने गरेको भएपनि केही महिना अघिदेखि फुलवारीमा पनि शाखा विस्तार गरेकी छिन् ।

२०६१ सालमा उनले दिदी घर संस्था सञ्चालन गरेकी हुन् । २०६१ देखि २०७२ साल सम्म उच्च शिक्षा प्राप्त गर्न नसक्ने ४० जना गरिव विद्यार्थिहरुलाई आर्थिक सहयोग पनि गरिन । उनकै आर्थिक सहयोगमा पढेका विद्यार्थीहरु अहिले केही डीग्री पास पनि गरिसके । कोहीले लयर पढ्दैछन् । कोही जागिरे छन् । २०७३ सालदेखि उनले १० जना बालबालिकालाई राखेकी हुन् । उनले बालबालिकाहरुलाई पालन पोषणदेखि शिक्षा दिक्षा समेत दिने गरेकी छिन् । उनीहरुलाई पढाउनकालागि घरमै पनि शिक्षिका राखेकी छिन् ।

स्यानीका संघर्ष
थारु समुदायकी डिग्री पास गरेकी एउटी महिला हुन्, स्यानी । पढाई जीवनका उनका संघर्ष पनि कम छैनन् । उनको घर पहिले फुलवारी हो । त्यहाँ विद्यालय थिएनन् । त्यसैले उनी पढ्नकालागि उरहरी आउनु पथ्र्यो । उरहरी आउँदा बर्षादको बबईको भेल तर्नु पथ्र्यो । कहिले काही डुँगा हुन्थ्यो । यदि डुंगा नभएको अबस्थामा उनी आफै पनि पौडी खेलेर वारपार गर्थिन ।

त्यसमा पनि छोरी मान्छेले पढ्नु हुँदैन भन्ने मान्यता थियो । त्यस्तो समाजबाट पनि उनले त्यतिबेला कक्षा लिईन । तर, निकै कठीन संघर्ष गरेर ।‘केटी मान्छेले पढ्नु हुँदैन भन्ने मन्यता थियो’,उनले भनिन्‘त्यसपछि म आफै केटाको भेषमा आएपछि मात्रै विद्यालय प्रवेश गर्न पाउथे ।’ थारु समुदायमा ब्याप्त कमैया, कम्लहरी प्रथा थियो । ति कुसस्ंकारलाई कम गर्न स्यानीले निकै योग्दान गरेकी छिन् । पिछडिएको थारु समुदायमा जन्मिएकी छोरीलाई घरायसी काममा मात्र सिमित राख्ने र अर्काको घरमा जाने जात भन्दै पढ्न समेत बञ्चित भएको थारु महिलाहरुको लागि पनि हौसला, उत्साह, जोसजागर दिने काम गदै आएकी छिन ।