करेन्ट लगाएर माछा मार्ने क्रममा तुलसीपुरका एक ब्यक्तीको मृत्यु

तुलसीपुर, २७  कात्तिक । करेन्ट लगाएर माछा मार्ने क्रममा दाङ तुलसीपुरका एक ब्यक्तीको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ गैरापातु स्थित भजना खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा सोही ठाउँका ४० बर्षीय सम्शेर चलाउनेको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार मंगलबार साँझ पौने ७ बजेतिर खोला किनारमा मृत भेटिएपछि अनुसन्धान गर्दा माछा मार्ने क्रममा मृत्यु भएको खुलेको हो ।

स्थानीय कमला विकको घरबाट विद्युत जडान गरि माछा मार्ने क्रममा करेन्ट लागेको प्रहरीले बताएको छ । घटनास्थलबाट करेन्ट लगाउन प्रयोग गरिएको तार समेत बरामद गरिएको छ ।


साथै अनुसन्धानकालागि घटनास्थल रहेका तीन जना ब्यक्तीलाई नियन्त्रणमा समेत लिईएको छ । प्रहरीका अनुसार सोही ठाउँका ४५ बर्षीय बलबहादुर वली, ६२ बर्षीय गोरे वली र एक १२ बर्षीय नवालकलाई पक्राउ गरिएको छ ।

उनीहरु संगै माछा मार्न गएको बुझिएको प्रहरी निरीक्षक थापाले बताए।