बिजौरी—दहवन सडक सञ्चालनमा चासो

विजौरी, २४ साउन ।
बिजौरी-दहवन सडक सञ्चालनको लागि बिजौरीमा एक कार्यक्रमका बिच छलफल भएको छ । उक्त सडक बर्षातको मौसममा अवरुद्ध भएपछि त्यस सडकलाई सञ्चालन गर्न सर्वपक्षीय चासो देखिएको हो । बिजौरी उद्योग वाणिज्य संघले आयोजना गरेको सर्वदलीयरसर्वपक्षीय छलफलका सहभागीहरुले सो सडक तत्काल सञ्चालनमा ल्याउन रोल्पाको रुम्टिगढी गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाले सामुहिक रुपमा पहल गर्नुपर्ने बताएका छन् ।

बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा शनिबार उद्योग वाणिज्य संघकै सभाहलमा आयोजित छलफल कार्यक्रममा प्रमुख अतिथि तथा तुलसीपुर उपमहानगरपालिका—१९ का अध्यक्ष रामबहादुर योगीले बिजौरी दहवन सडक सञ्चालनमा आफुले अर्थपूर्ण पहल गर्ने अभिव्यक्ति दिए ।

‘हामीले नै यो सडक खुलाउनु पर्छ भनेर विसं २०५४ सालमै पहल सुरु गरेका थियौं, त्यसकै लागि विजौरीबाट कुटिचौरसम्म सडकको ट्रयाक खोलिएको थियो’, अध्यक्ष योगीले भने, त्यसकै कारण अहिले बिजौरीदेखि दहवनसम्म काम चलाउ सडक निर्माण भएको हो ।

यो सडकमा तत्कालका लागि सञ्चालन गर्ने गरी एउटा योजना बनाउने र दीर्घकालीनरुपमा सडकको स्तरवृद्धिका लागि दाङ जिल्ला र रोल्पा जिल्लाले सामुहिक पहल गर्नुपर्ने पनि उनको अभिव्यक्ति थियो । दहवनबाट बिजौरी हुँदै जलकुण्डी जोडिएपछि सो सडकले सतबरीयामा पुर्वपश्चिम राजमार्गलाई समेत जोड्ने छ । यो पुर्वपश्चिम राजमार्ग र सहिद मार्गलाई जोड्ने सबैभन्दा छोटो सडक पनि हुने छ ।


दहवनबाट बिजौरीको दुरी करीव २८ किमि मात्र छ । सुँगुरखोलाभन्दा माथि ग्वारखोलाका दुई स्थानमा पुल वा अस्थायीरुपमा हाललाई कल्भर्ट मात्रै बनाउन सके पनि सो सडक बाह्रै महिना सञ्चालनमा आउन सक्ने छ । जुन सडक बाह्रै महिना सञ्चालनमा आएको अवस्थामा रोल्पाको रुम्टिगढीका दुई वटा वडासँगै होलेरी र स्वर्गद्वारी पनि यही सडकबाट आवागमन गर्न सहज हुने बताइएको छ ।

छलफल कार्यक्रममा ती स्थानमा तत्कालका लागि कल्भर्ट निर्माण गरेरै पनि सडक यातायात सञ्चालनका लागि प्राविधिकबाट सर्वे गराउने र सानो बजेटमा काम हुन सक्ने भएमा तुलसीपुर र रुम्टिगढी गाउँपालिकाबाटै निर्माण गर्ने अन्यथा थप सहयोगका लागि केन्द्र र प्रदेश सरकारलाई सहयोगका लागि अनुरोध गर्ने पनि सहमति भएको बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेमनाथ योगीले बताएका छन् ।

उनले यो सडकलाई सुचारु गर्न सके रोल्पाको दक्षिणी क्षेत्र तथा दाङ जिल्लाको बिजौरी र मानपुर समेतको व्यापार व्यवसायमा चहलपहल बढ्ने अपेक्षा गरे । बिजौरी उद्योग वाणिज्य संघका सदस्य प्रेम विकको स्वागत मन्तव्यबाट सुरु भएको छलफल कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका स्टोर प्रमुख मस्तबहादुर थापा, नेपाली कांग्रेसका हिमबहादुर डाँगी, नेकपा एमालेका टोपेन्द्र केसी, माओवादी केन्द्रका रामबहादुर दहित, अधिकारकर्मी केशव कुमार शर्मा, डिल्लीबहादुर रावत, स्थानीयबासीहरु अमरराज बस्नेत, भरत केसी, एमालेका डिल्ली पुन, स्थानीय सुरेन्द्र रोका, नन्दराम रोका, बिजौरी उवासंघका पुर्व अध्यक्ष कमानसिंह खड्का लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको सहजीकरण बिजौरी उद्योग वाणिज्य संघका महासचिव विदुर गौतमले गरेका थिए ।