खेल र पहिचान जोगाउन तुलसीपुरमा १० दिने सांस्कृतिक कार्यक्रम

दाङ, १८ चैत । तुलसीपुरमा नयाँ वर्ष २०८० सालको अवसरमा सांस्कृतिक कार्यक्रम हुने भएको छ । मितेरी युवा क्लब तुलसीपुरको आयोजनामा उक्त कार्यक्रम सञ्चालन हुन लागेको शनिवार पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।

स्थानीय स्तरमा लुकेर रहेका विभिन्न कला, प्रतिभाहरुलाई उजागर गरि हौसला प्रदान गर्ने मुख्य उद्देश्यले बैशाख १ गते देखि १० गतेसम्म सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न लागिएको क्लबका अध्यक्ष अजय बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार सांस्कृतिक कार्यक्रमको उद्घाटन भने चैत ३० गते गरिने छ । उक्त कार्यक्रममा ५ लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ । त्यसबाट संकलित रकम मध्ये केही रकम छुट्याएर खेलक्षेत्रको विकासका लागि तुलसीपुरको अरणीको मैदानमा ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको आयोजना गर्ने योजना रहेको अध्यक्ष बुढाथोकीले बताए ।


‘स्वास्थ्य, शिक्षा, सूचना हाम्रो अभियान, कला संस्कृति र भेषभुषा, हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ सञ्चालन हुन लागेको कार्यक्रममा चर्चित गायिका ज्योति मगर, प्रीति आले, एलिना चौहान, गायक कृष्ण रेउले, गायिका सिर्जना खत्री, अनु चौधरी, गायक कुलेन्द्र विश्वकर्मा, टङ्क तिमिल्सिना, हास्यकलाकार विष्णु सापकोटा (हर्के हवल्दार) गायक चक्र बम, बालगायक सुप्रिम मल्ल, गायक क्रिश क्षेत्री, गायीका अञ्जु कुसुम्या, गायक शालिकराम चौधरी लगाएको सहभागिता रहने छ ।

त्यस्तै कार्यक्रममा तुलसीपुर डाँस आइडल २०७९ का बिजेताहरु जेविका रेउले, सञ्जु क्षेत्री, सन्द्यया राना, जिबा बुढाथोकी लगायत विभिन्न कलाकारहरूको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पत्रकार सम्मेलनको सहजीकरण मितेरी युवा क्लबका सदस्य तिलक राज ओलीले गरेका थिए । साथै उक्त कार्यक्रममा बाल उद्यान, खाजा–नास्ताका विभिन्न स्टलहरू राखिने छ ।