घोराहीमा गठबन्धनका शर्मा र डाँगीको अग्रता कायमै

घोराही, १ जेठ ।

दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारहरुको अग्रता कायम रहेको छ । आइतवार साँझ ७ बजेसम्म घोराही उपमहानगरपालिकाका ८ वटा वडामा भैरहेको मत गणनाका आधारमा गठबन्धनका उम्मेदवारहरुले फराकिलो अग्रता बनाउनु भएको हो ।

घोराही उपमहानगरपालिकामा गठबन्धनबाट प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा ४ हजार ५४७ मत प्राप्त गर्नुभएको लुम्विनी प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार नरुलाल चौधरीले ३ हजार ७२६ मत प्राप्त गर्नुभएको छ ।


हालसम्म एमालेका उम्मेदवार चौधरीभन्दा गठबन्धनका उम्मेदवार शर्मा ८२१ मत अन्तरले अघि रहनुभएको छ । घोराहीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सरिता देवकोटाले ७७८ मत ल्याएर तेश्रो नम्वर हुनुहुन्छ । उपप्रमुखमा पनि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवार भुपबहादुर डाँगीले ४ हजार ८६० मत प्राप्त गर्दै फराकिलो अग्रता कायम गर्नुभएको छ ।

उपप्रमुखमा एमालेबाट उम्मेदवार बन्नुभएकी हुमा डिसीले ३ हजार ६१९ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा गठबन्धनका डाँगीले एमालेकी उम्मेदवार डिसीलाई एक हजार २४१ मतले पछि पार्नुभएको छ । घोराहीका १९ वटा वडाहरु मध्य वडा नं. १९ मा मतगणना सकिएको छ भने वडा नं. १४, १५, १६, १७, १८ र १ नम्वरमा मत गणना भैरहेको छ । घोराही उपमहानगरपालिकामा ७६ हजार ५ सय २१ मत खसेको थियो । जस मध्य करिव दश हजार मत मात्रै गणना भएको छ ।