स्थानीय सरकारका पाँच बर्षको समीक्षा : कहाँ चल्दै छन्, मनोरेल र नगर यातायात ? कस्तो छ स्मार्टसीटी ?

दीपक बोहरा
दाङ, २१ वैशाख । मुलुकमा अधिकार सहितका स्थानीय सरकारमा जनप्रतिनिधि आएपछि धेरै महत्वकांक्षा सहितका योजनाहरु अघि सारे । स्रोत साधनको आँकलन, क्षमता मूल्यांकन नगरिकनै आफ्ना घोषणापत्रहरु अघि सारे, महत्वकांक्षी नीति तथा कार्यक्रमहरु अघि सारेपनि कार्यान्वयनमा भने निकै चुनौति देखियो । स्थानीय तहहरुलाई आफैले अघि सारेका नीति तथा कार्यक्रमहरु आफैलाई नै घाँडो बनेर आए । आफैले अघि सारेका योजनाहरु स्थानीय सरकारहरुले पूरा गर्न सकेका छैनन् । एक बर्षमै परिबर्तन देखाउने भनि जनतासंग बाचा गरेका सरकार प्रमुखहरुले आफ्ना बाचा पूरा गर्नसकेको अबस्था छैन् ।

घन्किन्थे स्मार्टसीटीका नारा, तर, धुलाम्मे बने
तुलसीपुर उपमहानगरपालिकामा एमालेका घनश्याम पाण्डेले विजयी हाँसिल गरे । उनले चुनाबी घोषणा पत्रमा खुलाएको एउटा विषय थियो–स्मार्टसीटी । त्यसलाई जनतामा उनले जोडतोडकासाथ लिए । जनताले पनि पत्याए र जिताए । जनताले निकै अपेक्षा गरि जिताएपनि पाँच बर्षमा स्मार्टसीटीको अनुभूति गर्न पाएनन् ।

उपमहानगरपालिकालाई ब्यबस्थित बनाउने योजना अघि सारेको भएपनि कोभिड र सरकार परिबर्तनले निकै असर गरेको पाण्डे बताउछन् ।‘हामीले स्मार्टसीटीको लागि गुरुयोजना तयार पारेका छौं’,उनले भने‘तर, कोभिडले पनि हामीलाई असर ग¥यो, अर्कोतर्फ समार्टसीटीकालागि आउने भनेको एक अर्ब बजेटपनि सरकार परिबर्तनले गर्दा अर्को सरकारले कटायो ।’

स्मार्ट सीटीकालागि उनी बिभिन्न देश पनि घुमेका थिए । आफू निर्वाचित भएको एक बर्षमा उनले स्मार्टसीटीको परिबर्तन देखाउने प्रतिबद्धता गरेका थिए । उनले आफू स्मार्टसीटी बनाउने बाटोमा अघि बढेको बताउछन् । त्यो अनुसार केही काम भएको समेत उनले बताए ।

तुलसीपुर–घोराही मनोरेल चलाउने कुरा पनि घोषणा पत्रमा थियो । घोषणा पत्रमा भएका यी कुराहरु पहिलो र दोस्रो नीति तथा कार्यक्रममा पनि समावेश गरे । तर, कार्यान्वयनकाकालागि एकरथी काम पनि भएका छैनन् । नगर यातायात सञ्चालन गर्ने कुरा पनि कुरामै सीमित भयो । त्यसमा पनि केही काम अघि बढ्न नसकेको उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे स्वीकार गर्छन् । तुलसीपुर फोहर नै उचित ब्यबस्थापन गर्न सकेको छैन । यस अघि तुलसीपुर ६ मा अस्थायी रुपमा फोहर डम्पिङ गर्ने गरिएको छ । जो की त्यतिबेला घोषणा पत्रमा फोहरमैला प्रशोधन केन्द्र सञ्चालन गर्ने कुरा उल्लेख थियो ।

त्यस्तै तुलसीपुरमा टुलसीपुर ट्रेड टावर निर्माण गर्ने पनि उनको घोषणा पत्रमा थियो । उपमहानगरपालिकाका सबै शाखा सञ्चालन गुर्नकासाथै ब्यापारिक प्रायोजनकालागि ७ तलाको ट्रेड टावर निर्माण गर्ने महत्वकांक्षी योजन थियो । त्यो कार्यकालागि यस अघि रहेको तरकारी बजार अर्को स्थानमा सारिएको थियो । तर, त्यसको काम पनि अघि बढ्न सकेको छैन । तुलसीपुर चक्रपथ निर्माण पनि उनको घोषणा पत्रमा उल्लेख थियो । त्यो चक्रपथ अहिलेसम्म एक किलोमिटर मात्रै कालोपत्र भएको छ । तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनियर पवन कुमार योगीका अनुसार एक सबै क्षेत्रमा ट्रयाक खुलेको भएपनि कालोपत्रेको काम एक किलोमिटर मात्रै भएको छ । आईटी पार्क, स्मार्ट डस्टविनजस्ता कुरा समेत उपमहानगरपालिकाले सुरुवात समेत गर्न सकेको छैन् ।

चुनाव अघि मेयर पाण्डेले तुलसीपुरलाई स्पोर्ट सिटी बनाउने विषय जोडतोडले उठाएका थिए । तुलसीपुर उपमहानगरपालिकालाई स्पोर्ट सिटीका रुपमा विकास गर्ने भन्दै ‘एक बस्ती, एक खेल मैदान’को चुनावी घोषणा पत्रमा उल्लेख समेत गरेका थिए । तर निर्वाचित भएर आइसकेपछि उपमहानगरको नेतृत्वले आफैले गरेको प्रतिवद्धता विर्सिए । न त स्पार्ट सिटी बन्यो न त एक बस्ती एक खेल मैदान निर्माण गर्ने प्रतिवद्धता नै पुरा भयो ।

पाँच वर्ष पुग्नै लाग्दा तुलसीपुरले पाँचवटा खेलमैदान निर्माण गरेको छ भने एउटा निर्माणाधीन अवस्थामा छ । तुलसीपुर उपमहानगरपालिका अनुसार १९ वटा वडा मध्ये १ मा मदन भण्डारी रंगशाला, २ को बालापुर खेल मैदान, ७ को गैराखाली तथा ८ र ९ को सीमानामा पर्ने दुविचौर र वडा नं. १९ को सक्राम खेलमैदान निर्माण भएका छन् । बाँकी १० वटा वडामा खेलमैदान बन्नै सकेनन् । वडा नं. १७ मा यसअघि नै संघीय सरकारको लगानीमा सुविधासम्पन्न रंगशाला छ भने वडा नं. ५ मा अरनीको मैदान छ ।


ऋणमा उपमहानगर
तुलसीपुर उपमहानगर अहिले ऋणको भारी बाकिरहेको छ । स्रोत नै पहिचान नगरी महत्वकाक्षी योजनाहरु अगाडी सार्दा अहिले ५७ करोड आन्तरिक ऋणमा छ । उपमहानगरले भएका भौतिक पूर्वाधार विकासका कामहरुको ५७ करोड तत्काल भुक्तानी गर्नुपर्नेछ । उपमहानगरमा अहिले भुक्तानीको लागि निर्माण व्यवसायी र उपभोक्ता समितिको भिड नै लाग्ने गरेको छ । तर उपमहानगरपालिको कोषमा पैसा नभएपछि सम्पन्न भइसकेका योजनाहरुको भुक्तानी दिन नसकेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले बताए ।

घोराही ः घरबार विहीनको अर्पाटमेन्ट कहाँ छ ?
घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले पनि आफ्नो घोषणा पत्रमा महत्वकांक्षी योजना राखे । जुन योजना पूरा हुन सकेनन् । घोषणा पत्रमा भएको कुरालाई नीति तथा कार्यक्रममा पनि समावेश गरे । उनले घरवार विहीनलाई अपार्टमेन्ट निर्माण गर्ने र त्यहाँ ब्यबस्थापन गर्ने पहिलो नीति तथा कार्यक्रममा समावेश गरे । तर, त्यो काम अघि बढ्न सकेन ।

त्यस्तै अन्तराष्ट्रिय विमानस्थल घोराहीमा निर्माणकालागि आधार तयार पार्ने उनको घोषणा पत्रमा थियो । त्यसकालागि गुरुयोजना तयार पार्ने भनि उनले आफ्नो पहिलो नीति तथा कार्यक्रममा समावेश गरे । त्यो गुरुयोजना समेत बन्न नसकेको उनी स्वीकार गर्छन् । शहरी क्षेत्रमा चक्रपथ निर्माण गर्ने उनको योजना पनि अधुरै रह्यो ।

घोराहीमा औद्योगिक क्षेत्र स्थपनाको प्रक्रिया अगाडी बढाउने योजना रहेपनि त्यो पनि अघि बढ्न सकेको छैन । प्रत्येक वडामा एउटा पर्यटकीय स्थल निर्माण गर्ने पनि उनको योजना थियो । त्यो पनि पूरा हुन सकेको अबस्था छैन । आफ्नै पालाभित्र नगर बस समेत सञ्चालनमा ल्याउने योजना पनि अधुरै छ । तर, नरुलाल आफू घोराहीको विकासप्रति सन्तुष्ट भएको बताउछन् ।‘हामी हाम्रो विकासप्रति सन्तुष्ट छौं’,उनले भने‘हामीले उपमहानगरपालिका भित्र ड्याम निर्माण गरेर उचित सिचाई, सडक कलोपत्रे, शिक्षामा फड्को मारेका छौं ।’

लमही ः यता पनि चक्रपथकै कुरा
लमही नगरपालिकाक मेयर कुलबहादुर केसीले पनि चक्रपथ निर्माणकालागि योजा अघि सारे । तर, त्यो उनको योजना पनि पूरा हुन सकेन । लमही नगरपालिकाले दोस्रो नीति तथा कार्यक्रममा ‘खाडी राष्ट्र नजाउ, गएका आउ र लमही नगर बनाऔं’ भन्ने नारालाई अभियानका रुपमा अघि सा¥यो । उसले आफ्नै नगर निर्माणको काम गर्ने श्रमिकलाई ज्यालादर उपलब्ध गराउने र अफ्नै ठाउँमा रोजगार सिर्जना गर्ने नीति ल्याए । तर, त्यो नीति अनुसार काम हुन सकने । खाडी जानेको संख्या अझै घट्न सकेको अबस्था छैन । नगरपालिकालाई प्लाष्टिक मुक्त बनाउने नीति अघि सारेपनि त्यसमा पनि काम हुन सकेको छैन । उपमहानगरपालिकाले फोहरलाई मल उत्पादन गर्ने नीति अघि सारेको भएपनि त्यसलाई अघि बढाउन सकेन ।

पुरा नहुने योजना गाउँपालिकाका पनि छन्
दाङका दुई उपमहानगरपालिका, एक नागरपालिका र सात गाउँपालिका हुन् । नगर र उपमहानगरपालिकाले ल्याएका जस्तै महत्वकांक्षी गाउँपालिकाहरुले पनि ल्याए । गाउँपालिकाहरुका ति योजनाहरु पनि यो पाँच बर्षमा अधुरै रहे । दंगीशरण गाउँपालिकाले पनि चक्रपथ निर्माण प्रक्रिया अघि बढाउने जनतामाझ बाचा ग¥यो । तर, त्यो बाचा पूरा हुन सकेन । दंगीशरणले नै एक वडा, एक पोखरीको नीति लियो । त्यो कार्य पनि सुरुवात हुन सकेन । सिंचाईकालागि पोखरी निर्माण गर्ने योजना अधुरै रहेको गाउँपालिका अध्यक्ष भागीराम चौधरी स्वीकार गर्छन ।
बबई गाउँपालिकाले पनि जग्गा बाँझो राख्न नदिनकालागि एउटा योजना अघि सा¥यो – जग्गा बाँझो राख्नेलाई मालपोत कर दोब्बर बनाउने । पहिलो नीति तथा कार्यक्रममा त्यो कुरा समावेश भयो । तर, पाँच बर्षमा त्यो कुरा पूरा हुन सकेन । साभारः अग्रिम साप्ताहिक

May be an image of 3 people and text that says '6 स्वाधीनता,समृद्धि अगिम समाजवादको यात्रा vedang.com शुभकामना साप्ताहिक WEEKLY २०७९ गते सोमबार April Monday 2022) परिवार स्थानीय सरकारका पॉच बर्षको समीक्षा कहाँ चल्दै छन् मनोरेल र नगर यातायात कस्तो छ स्मार्टसीटी ? उपमहानगरका योजना कहाँ पुगे? कमगनें ੧) स्मार्टसीटी चक्रपथ प)नगर खेल मैदान ७)घरबार विहीनको अपार्टमेन्ट अन्तराष्ट्रिय विमानस्थल आफल शुभकामना वर्ष २०७८ पारी,व्यवसायीक तुलसीपुर पमहानगरपालिका कार्यालय परिवार शुभकामना नव वर्ष २०७৮ सोरा योगी तुलसीपुर नं. दाड'