
दाङ, २० साउन ।
लगातारको वर्षासँगै खोलानालामा पानीको बहाव तीव्र रुपमा बढ्न थालेको छ। घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत पर्ने हापुरखोलामा पानीको सतह बढेसँगै साना सवारीसाधनलाई आवागमनमा समस्या उत्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार हाल खोलामा पानीको बहाव उच्च रहेको र अझै पनि वर्षा जारी भएकाले थप सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।
गएरातिदेखिको निरन्तर वर्षाका कारण राप्ती, बबई, सेवार, कालाखोला, ग्वारखोला, सक्राम खोला र पातुखोलामा पानीको बहाव बढ्दो क्रममा छ। हालसम्म पानी खतराको तह पार नगरेको भए पनि निरन्तर वर्षा भइरहेकाले जोखिम बढ्न सक्ने प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले जानकारी दिनुभयो।
पानी लगातार परिरहेकाले होचा स्थानमा डुबान तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढ्दै गएको छ । यता, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाका अनुसार, हापुरखोलामा प्रहरी तैनाथ गरिएको छ। सवारीसाधन खोलाबाट जवरजस्ती पार गर्न खोज्दा दुर्घटनाको जोखिम बढेको भन्दै प्रहरीले निगरानी कडा पारेको जनाएको छ।
तटीय क्षेत्रका बासिन्दा र यात्रुहरुलाई सर्तक रहन र अनावश्यक जोखिम नलिन प्रशासनले आग्रह गरेको छ।



लाइभदाङ । २१ श्रावण २०८२, मंगलवार ११:५५ बजे