सुकौराको संरक्षणमा ध्यान दिऔं

दंगीशरणले राज गरेको एउटा एतिहासिक स्थान हो–तुलसीपुर ११ को सुकौरा । जो पर्यटकीय हिसाब मात्रै नभई एउटा अध्ययन अनुसन्धानको केन्द्र पनि बन्न सक्छ । तर, त्यो स्थान अहिले ओझेलमा पर्न थालेको छ । त्यहाँ न त केन्द्र सरकारले हेरेको छ, न त प्रदेशले न त स्थानीय सरकारले नै हेर्न सकेको छ । पटक–पटक केन्द्रीय स्तरका नेताले त्यहाँको अवलोकन त गर्छन्, तर, काम अघि बढ्न सकेको छैन । दंगीशरणले राज गरेको स्थानमा प्रदेश सरकारले आधा मात्रै पर्खाल निर्माण गरेको छ । त्यो पनि केही ठाउँमा भत्किएको छ । त्यहाँ हरियाली पार्क निर्माण भयो । तर, त्यो पार्क अहिले सुख्खा छ । त्यहाँ गाईभैसीको चरण क्षेत्र छ । भ्यूटावर त्यतिकै अधुरो छोडिएको छ । दैनिक एकसय जना पर्यटकहरु त्यहाँ आउनु पर्ने हो । तर, त्यहाँ एक जना पनि पर्यटकहरु ऋवलोकन गर्न आउँदैनन् ।

सुकौरालाई यस क्षेत्रको नेतृत्वले ध्यान दिनुपर्ने हो । थारु समुदायबाट प्रतिनिधित्व गरेका डिल्ली चौधरी एक पटक राज्य मन्त्री भए, हाल पनि लुम्बिनी प्रदेश सरकारको पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्री छन् । तर, उनले आफ्नै थारु संग्राहलय दंगीशरण–३, को चखौरामा निर्माण गरेका छन् । सबै बजेट चखौरामा जान्छ । सुकौरामा खासै बजेट आउँदैन । तुलनात्मक रुपमा प्रदेशबाट धेरै बजेट चखौरालाई गएको छ । यसले थारु समुदायको ऐतिहासिकता बोकेको सुकौरालाई अन्याय गरेको छ । अहिले चखौरामा हरेक संरचना निर्माण गरिएको छ । बेस संस्थालाई देखाएर त्यहाँ दंगीशरण राजाको सालिक देखि थारु समुदायका परम्परागत कुराहरु झल्किने सामग्रीहरु राखिएको छ । त्यही हेर्न चखौरामा भिड लाग्ने गरेको छ । थारु अगुवाहरुले यसको भने विरोध जनाउँदै आएका छन् । ऐतिहासिक ठाउँ सुकौरा भएकाले त्यो लगानी सबै सुकौरामा गरेको भए, त्यसले सुकौराको विकासमा निकै टेवा पुग्ने थियो । तर, त्यसो नगरी अर्कै क्षेत्रमा संग्राहलय बनाउँदा थारु समुदायको भावनामाथि कुल्चिने काम भएको छ ।


ऐतिहासिक कुरालाई संरक्षण गर्न दायित्व हो । हाम्रो पुस्ताले संरक्षण गरेमा भावि पुस्ताले ऐतिहासिकताबारे जानकारी पाउछन् । इतिहासबाट पनि धेरै कुराहरु सिक्न सकिन्छ ।त्यसैले थारु समुदायबाटै सबै भन्दा बढि पहलकदमी सुकौरालाई जानुपर्छ । त्यसलाई संरक्षण गर्ने थारुबाट प्रतिनिधित्व गर्ने नेताहरुको दायित्व हो । तर, नामेट पार्ने काम जसरी भइरहेको छ, यसको भने सबैले विरोध गर्नुपर्छ । साभारः अग्रिम साप्ताहिक