गठबन्धन वडा तहसम्म नै हुन्छ: मास्की

तुलसीपुर
८ बैशाख / नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य राजेश मास्कीले गठबन्धन वडा तहमै पुग्ने बताएका छन् । अहिले धेरैले गठबन्धनप्रति भ्रम छर्ने गरेको भन्दै त्यो भ्रममा नपर्न समेत सबैलाई आग्रह गरेका छन् ।

तुलसीपुर नगर पार्टीको सम्पर्क कार्यालयको बुधबार उद्घाटन गर्दै मास्कीले केही दिनमा वडा तहसम्मकै उम्मेदवार टुंगिने बताए । पार्टीका नगर अध्यक्ष खुसीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उनले अहिले एमालेहरुले गाउँ–गाउँमा गठबन्धन विरुद्ध भ्रम छर्ने कार्य गरेको समेत बताए ।‘अहिले एमालेहरु गाउँ–गाउँमा गएर भ्रम छर्ने गरेका छन्’,उनले भने‘काँग्रेस कहाँ गएर माओवादीले काँग्रेसलाई भोट दिदैन भन्छन्, भने माओवादी कहाँ गएर काँग्रेसले माओवादीलाई भोट दिदैन भन्दै जनतालाई भड्काउने काम गरिरहेका छन्, यसका पछाडी कोही पनि लाग्न हुँदैन ।’


उनले यो प्रतिगमण विरुद्धको गठबन्धन रहेकाले यसलाई बचाउन धेरै ठाउँमा त्याग गरेको समेत बताए । त्यस अवसरमा पार्टीका केन्द्रीय सल्लाहकार कमिटि सदस्य शेसुराम भण्डारीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । तुलसीपुर ६ स्थित कभर्डहल नजिक पार्टीको कार्यालय स्थापना गरिएको छ । कार्यक्रमको सहजीकरण सचिब तुलाराम भण्डारीले गरेका थिए ।