बेहाल सडक : एक बर्षमा ४ महिना काम, अहिले अलपत्र

दाङ
१ बैशाख / सडकमा निर्माण गर्नकालागि गाडिएका छड, त्यतिकै छन् । निर्माणकालागि ल्याईएका तार जालीहरु सडकमा छताछुल्ल पारि राखिएको छ । सडक धुलै धुलो हुँदा वरपर बस्ने नागरिकलाई समस्या छ । तर, सडक निर्माणको काम ६ महिनादेखि ठप्प छ । दाङको दंगीशरण गाउँपालिकाको पोटली–मिरौली–चखौरा– रावतगाउँ हुँदै एकली जोड्ने सडक निर्माण कार्य अहिले ठप्प छ । ४ किलोमिटर सडक कालोपत्रे गर्नकालागि ८ करोड बजेट परेको छ ।

त्यो मध्ये अहिलेसम्म करिब एक करोड बजेट बराबरको काम भएको छ । त्यसपछि लामो समयदेखि निर्माण कार्य ठप्प रहेको छ । निर्माण कार्य ठप्प हुँदा त्यहाँ कार्यरत मजदुरहरु समेत मारमा परेका छन् । करिब दुई महिना काम गरेका मजदुरहरुले पारिश्रमिक नभएको गुनासो गरेका छन् । पटक–पटक दिन्छु भनेर आस्वासन दिएको भएपनि अहिलेसम्म पारिश्रमिक नपाएको मजदुरहरुले बताएका छन् ।

करिब ८० जना मजदुरहरुले यसरी पारिश्रमिक नपाएको गणेश डाँगीले गुनासो गरे ।‘करिब ८० मजदुरले त्यहाँ काम गर्नुभएको हो’,उनले भने‘तर, कसैले पनि काम गरेको पारिश्रमिक पाउनु भएको छैन ।’ गएको बर्ष जेठ १ गतेदेखि काम सुरु भएको हो । काम सुरु भएपछि दुई महिना मात्रै काम भएको थियो । जेठ र असारसम्म काम भयो र त्यतिबेला काम रोकियो । त्यतिबेला रोकिएको काम कात्तिकमा सुरु भयो र मंसिरमा पुनः ठप्प भयो । ठप्प रहेको काम अझै पनि सुरु हुन सकेको अबस्था छैन ।

पसलमा पनि त्यतिकै उद्यारो रहेको छ । त्यस ठाउँमा पसल गर्ने आशाराम चौधरीको पसलबाट सामान लिएको भएपनि त्यो सामानको पैसा अझै नआएको उनले गुनासो गरे । उनको किराना पसलबाट लिएको खाद्यान्न, तरकारीलगायतको गरि एकलाख २० हजार रुपैँया लिन बाँकी रहेको उनको भनाई छ ।


लुम्बिनी प्रदेशसभा सदस्य धमकली चौधरीले आफ्नो पहलमा बजेट परेको त्यस क्षेत्रमा काम ठप्प भएको भन्दै त्यसलाई सूचारु गर्नकालागि पहल भइरहेको बताईन् ।‘मैले ठेकेदारसंग पनि पटक–पटक कुरा गरिरहेकी छु, सडक पूर्वाधार कार्यालयसंग पनि कुरा भइरहेको छ’, उनले भनिन‘अब तत्काल सुरु हुन्छ ।’ बैशाख ३ गते देखि काम गर्ने भनि ठेकेदारले प्रतिबद्धता जनाएकाले त्यतिबेलादेखि काम सुरु नभए ठेक्का समेत रद्ध गर्न सक्ने चेतावनी समेत दिएको उनले बताईन् ।

प्रदेशसभाको ८ करोड बजेटमा सडक पूर्वाधार कार्यालय दाङ मार्फत उक्त सडक निर्माणको काम अघि बढेको हो । कारवाहीको कुरा भुषाल गायत्री बस्नेत जेभि कन्स्ट्रक्सनले उक्त निर्माणको जिम्मा पाएको हो । निर्माण व्यबसायी आकाश भुषालले भने उक्त सडक निर्माणको तत्काल सुरु गर्ने बताएका छन् । उनले बैशाख ३ गते आफू दाङ आउने त्यसपछि काम सुरु गर्ने बताएका छन् । अहिले निर्माण सामग्री पनि महंगो भएकाले पनि यसरी निर्माण कार्यमा समस्या भएको उनी बताउछन् ।‘निर्माण कार्यमा धेरै पुरोना पनि होइन, सिक्दै छु, म संग धेरै पैसा पनि हुँदैन, अहिले निर्माण सामग्रीको मूल्य पनि उत्तिकै बढेकाले समस्या भयो’,उनले भने‘ म तत्काल अब काम सुरु गर्छु ।’ अझै पनि सम्झौता भएको समय बाँकी रहेकाले समयमै सक्ने समेत बताएका छन् ।

आउदो माघमा सक्ने गरि सम्झौता भएको छ । यो भित्रै उनले काम पूरा गर्ने समेत प्रतिबद्धता जनाएका छन् । उक्त सडकमा नाला निर्माण गर्ने, वाल निर्माण गर्ने, कालोपत्रे गर्ने काम गर्नुपर्छ । मजदुरहरुले आफ्नो ट्याक्टर पल्टाइदिएर क्षति बनाएपछि काममा अबरोध आएको समेत उनी स्वीकार गर्छन् । उनको ट्याक्टर अहिले इलाका प्रहरी कार्यालय हेकुलीमा राखिएको छ । उनले भाग्यलक्ष्मी क्रसर उद्योगको जेसीवी पनि प्रयोग गरेका थिए । त्यो जेसीवी पनि उद्योगले लगिसकेको छ ।