हमासले हानेको पहिलो ग्रिनेट मिल्काइदिएका थिए नेपाली विद्यार्थीले

दाङ, २१ असोज । शनिबार बिहानसम्म दक्षिणी इजरायल शान्त थियो । हमासले आक्रमण गर्छ भन्ने इजरायललाई थाहा–पत्तो थिएन । बिहान ४ बजेतिर गाजापट्टीबाट केही मानिस सीमातिर आउँदै थिए । साथमा केही डोजर पनि थिए ।

गाजापट्टी र किबुज सीमावर्ती क्षेत्र हुन् । किबुजका किसान र गजापट्टीका किसानको दैनिकी छेउछाउकै फार्ममा काम गरेर बित्थ्यो । गाजापट्टीतिरको समूह र डोजरलाई बोर्डरमा रहेको इजरायली सुरक्षा बलले अरुबेला जस्तै सामान्य ठान्यो ।

तर एकैछिनमा त्यहाँ मोटरसाइकलमा समेत गरी ठूलो समूह जम्मा भयो र बोर्डरमा रहेको सुरक्षा बलमाथि आक्रमण गरी अगाडि बढ्यो । यो इजरायलका लागि अभूतपूर्व थियो । किनकि यो सबै यति छिटो भयो कि कसैले केही सोच्नसमेत पाएनन् । त्यसैले इजरायली मिडियाले यो आक्रमणलाई आश्चर्यजनक भनेका छन् ।

किबुज क्षेत्रमा रहेको एक कृषि फार्ममा १७ नेपाली विद्यार्थी बस्थे । नेपालबाट गएका कृषि प्रशिक्षार्थीलाई एकै ठाउँमा राख्ने गरिएको छ । सीमा नाघेर हमास आक्रमणकारी बन्दुक र बमसहित किबुज क्षेत्रमा पसे ।

गाजाबाट आक्रमण भएलगत्तै इजरायलको अलर्ट साइरन (खतराको सङ्केत गर्ने बाजा) बज्यो । यही बेला किबुजका १७ नेपाली विद्यार्थी एक बंकरभित्र छिरे । उनीहरू सबै एउटै बंकरमा थिए । यो बंकर जमिनमुनिको नभएर एक घरको कोठामा थियो । सामान्यतया घरको बंकर पनि निकै सुरक्षित हुन्छ, किनकि कोठाको सम्पूर्ण संरचना फलामले बनेको हुन्छ ।

यहाँसम्म ठीकठाकै थियो । बाहिर हमास लडाकु ग्रिनेट र बन्दुक लिएर घुमिरहेका थिए । ‘यही बेला साथीहरूले बंकरभित्र म्युजिक बजाए । आवाज ठूलै भएकाले बाहिर सुनियो होला । एकैछिनमा बाहिरबाट एउटा ग्रिनेट (बम) आयो तर एउटा साथीले त्यो टिपेर उतै फालिदियो । फेरि अर्को ग्रिनेट आयो, त्योचाहिँ पड्केको हो’, सो घटनामा घाइते भएका धनबहादुर चौधरीले भने । उनी अहिले उपचाररत छन् ।

त्यसपछि माहोल एकाएक भयभित बनेको चौधरीले बताए । खासमा १० नेपाली विद्यार्थीको मृत्यु हिजै भएको उनको भनाइ छ । तर, आज मात्र तेलअभिवस्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।


हमासको आक्रमणमा  मृत्यु हुनेमा कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, कैलाली बौनिया ३ का आशीष चौधरी, दार्चुला लेकमा- ५ का दीपेशराज विष्ट, दार्चुला मालिकार्जुन- ४ का लोकेन्द्रसिंह धामी, बझाङ जयपृथ्वी- ६ का गणेशकुमार नेपाली, धनुषा सपाही- ६ का आनन्द साह, सुनसरी मधुवन- १ का राजेशकुमार स्वर्णकार, डोटी पचनली- ३ का राजन फुलारा, डोटीकै लमिखाल- ८ का पदम र सल्यान सारदा- ३ का प्रवेश भण्डारी छन् ।

अन्य चार जना अस्पतालमा उपचाररत छन् । घाइतेहरूमा सल्यान सारदा- २ का विधान सेजवाल, दाङ दङ्गिशरण- ३ का प्रवीण डाँगी, कैलाली टीकापुर- ९ का धनबहादुर चौधरी, गोरखा- ८ गोर्खाका हिमान्चल कट्टेल र कंचनपुर भीमदत्त ३ का विपिन जोशी छन् ।

सल्यान त्रिवेणी- १ का प्रमोद केसी बोस कस्टडी (रोजगारदाता किसानको संरक्षणमा) र कैलाली भजनी त्रिशक्ती- ४ का वीरेन्द्र चौधरी प्रहरी कस्डडीमा सुरक्षित छन् ।

१७ जना नेपाली विद्यार्थी रहेको सेदोत नेगेभमा हमासको आक्रमणपछि हिजो १७ मध्ये १२ नेपाली विद्यार्थी सम्पर्कविहीन थिए । तीमध्ये १० जनाको मृत्यु भएको एनआरएनए इजरायलका अध्यक्ष कृष्ण भण्डारीले बताए ।

प्रभावित सबै विद्यार्थी सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायअन्तर्गत (टीकापुर बहुमुखी क्याम्पस) का रहेको बताइएको छ ।

इजरायलमा सिक्दै कमाउँदै कार्यक्रमअन्तर्गत कुल २ सय ६५ विद्यार्थी इजरायल गएका छन् । तीमध्ये ४९ जना सुदूरपश्चिम विश्वविद्यालयका हुन् । त्यसमा पनि प्रभावित १७ जना सुदूरपश्चिम विश्वविद्यालयकै हुन् ।