
तुल बहादुर कवँर मगर
भालुबाङ,१५ भदौ ।
दाङको राप्ती गाउँपालिकामा लुम्बिनी पुस्तकालय तथा अनुसन्धान केन्द्र गठन गरिएको छ।
१९औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा सोमबार आयोजित भेलाले गणेश आचार्यको अध्यक्षतामा दुई सदस्य पछि थप गर्ने गरी १९ सदस्यीय तदर्थ समिति गठन गरेको हो।
समितिको उपाध्यक्षमा प्रकाश शाही, महासचिवमा जगतप्रसाद पोख्रेल र कोषाध्यक्षमा डिलाराम पौडेल चयन हुनुभएको छ।
सदस्यहरूमा तुला गिरी, डिल्लीराम सुवेदी, विष्णु बेल्बासे, किरण भण्डारी, कृष्ण पोख्रेल, केशवराज आचार्य, विष्णुप्रसाद पोख्रेल, रामकृष्ण पौडेल, जिवराज शर्मा, ओमप्रकाश गुप्ता, कृष्णबहादुर बुढामगर, चन्द्रप्रकाश ओली र बसन्त पुनमगर रहनुभएको छ। सहसचिव र एक सदस्य भने पछि थप गरिने जनाइएको छ।
त्यस्तै भेलाले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई केन्द्रको संरक्षक चयन गरेको छ। युवराज भण्डारी, रमेशमान गुरुङ, कृष्ण गिरी र रामप्रसाद चौधरीलाई सल्लाहकार चयन गरिएको छ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न भेलामा शिक्षक,प्राध्यापक, बुद्धिजीवी, साहित्यकार, पत्रकार तथा पुस्तकप्रेमीहरूको सहभागिता रहेको थियो।
सो अवसरमा बोल्दै अध्यक्ष विष्टले पुस्तकालयलाई अध्ययन, अनुसन्धान र ज्ञान आदानप्रदानको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो।
उहाँले पठन संस्कृतिको विकाससँगै स्थानीय इतिहास, कला, संस्कृति र ज्ञानको संरक्षण तथा अनुसन्धानमा केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
भेलाले संस्थाको विधान तयार गरी संस्था दर्ताको प्रक्रिया अघि बढाउने जिम्मेवारी केन्द्रका अध्यक्ष गणेश आचार्यलाई दिएको छ। केन्द्रको कार्यालय राप्ती गाउँपालिका–३ मा रहने निर्णयसमेत गरिएको छ।



लाइभदाङ । १५ भाद्र २०८३, सोमबार १६:३३ बजे