निर्वाचनमा निष्पक्ष कलम चलाउनुस् : प्रेस काउन्सिल अध्यक्ष बस्नेत

तुलसीपुर,२२ चैत ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आउदै गरेको स्थानीय तहको निर्वाचनमा पत्रकारले निष्पक्षरुपमा कलम चलाउन अनुरोध गर्नुभएको छ । रिपोर्टस् क्लब दाङले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले पत्रकार चुनाबको समयमा निकै सम्बेदनशील हुनुपर्ने समेत बताउनुभयो ।

निर्वाचनलाई स्वच्छ,मर्यादित र भयरहित तरिकाले सम्पन्न गराउनकालागि पत्रकारको भूमिका महत्वपूर्ण हुने भएपनि पत्रकारहरु राजनीतिक दलको भातृसंगठन जसरी भूमिका निर्वाह गरिरहेको भन्दै यसले नागरिकको सहीसूचना पाउने अधिकार कुण्डित हुने समेत बताउनुभयो ।


निर्वाचनको बेला सञ्चार माध्यामलाई पत्रकार आचारसंहिता उल्लंघनको विषयमा अनुगमन गर्ने संयन्त्र रहेको भन्दै त्यसले एकदमै कडाइकासाथ अनुगमन गर्ने समेत बताउनुभयो । चुनाब केन्द्रीत मिडिया सञ्चालन गर्ने, चुनाबलाई प्रभाब पार्ने गरि एकलौटी ढंगले समाचार सम्प्रेसन गर्ने जस्ता कार्य हुने गरेको भन्दै यस्तो कार्यलाई नियमन गरिने उहाँको भनाई छ ।

साथै पत्रकारहरु राजनीतिक दलमा सक्रिय हुन नहुँने समेत उहाँको भनाई थियो । विचार राख्नु पर्छ, तर, राजनीतिक दलमा आबद्ध भएर लाग्नु भने गलत रहेको उहाँको भनाई थियो । रिपाेर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सहजीकरण सन्ताेष केसीले गरेका थिए ।