कफी सिक्दै मेट्रोका विद्यार्थी

तुलसीपुर, १६ चैत ।

तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत विद्यार्थीहरुका लागि कफी बनाउने तालिम आयोजना गरिएको छ। विद्यार्थीहरुलाई सीपमुलक ज्ञान प्रदान गर्नका लागि तालिमको आयोजना गरिएको कलेज प्रमुख वसन्त आचार्यले बताए । डिप्लोमा तहमा फुड एण्ड डेरी कार्यक्रम अध्ययन गर्ने विद्यार्थीहरुलाई तुलसीपुर मेट्रो होटेलको सहयोगमा तालिम प्रदान गर्न लागिएको हो । ‘तालिम पश्चात विद्यार्थीहरुले क्याफे सञ्चालन गर्नेछन्’ कलेज प्रमुख आचार्यले बताए । विद्यार्थीले सिकेको सीपलाई व्यवहारमा लागु गराउनका लागि कलेजले विभिन्न परियोजना सञ्चालन गरेको पनि उनले बताए ।


‘पढेको कुरालाई कसरी व्यवसायसँग जोड्ने भनेर हामीले तालिम सञ्चालन गरेका हौँ’ आचार्यले भने ।
१५ दिनसम्म सञ्चालन गरिने तालिममा विद्यार्थीहरुलाई विभिन्न प्रकारका कफीको बारेमा जानकारी दिइने प्रशिक्षक अञ्जली केसीले वताइन् । उनले अहिलेको कफीको माग बढेर गएको भन्दै कफी सपको महत्व समेत रहेको कुरामा जोड दिइन् ।
तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि तुलसीपुर उपमहानगरपालिकाले कलेजको स्थापना गरेको हो ।