पूर्वसभामुख महराद्वारा टरिगाउँ विमानस्थलको अवलोकन

तुलसीपुर
१० चैत / नेकपा(माओवादी केन्द्र)का प्रबक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले दाङको तुलसीपुर स्थित टरिगाउँ विमानस्थलको अवलोकन गर्नुभएको छ । विहीबार महरासहित लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री(वली), पार्टीका केन्द्रीय सदस्य राजेश मास्केलगायतको टोलीले विमानस्थलको अवलोकन गरेका हुन् ।

अहिले तुलसीपुर उद्योग बाणिज्य संघले धावन मार्ग विस्तारकालागि सहयोग संकलन अभियान सञ्चालन गरिरहेको छ । विमानस्थलमा सानो जहाज हुँदा भाडा महंगो हुने र अवतरणमा पनि पटक–पटक समस्या आउने भन्दै ठूलो जहाज अवतरणकालागि धावनमार्ग विस्तार आबश्यक रहेको भन्दै अभियान चलाइरहेको संघका बरिष्ठ उपाध्यक्ष मिनराज भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार त्यहाँ १६ सय मिटर भन्दा बढि धावनमार्ग विस्तार गर्न सकिने र हाल रहेको धावनमार्ग भन्दा अलिकति दक्षिणतिरबाट लैजादा सहज हुने भन्दै अहिले उद्योग बाणिज्य संघले त्यसरी नै तयारी गरेको बताउनुभयो ।

त्यसकालागि प्राबिधिकहरुले नापजाँच समेत गरिसकेको उपाध्यक्ष भण्डारीले बतउनुभयो । उक्त धावनमार्ग विस्तारकालागि आफूले पहल गरिरहेको महराले प्रतिबद्धता जनाउनुभयो । विस २०११ देखि सञ्चालनमा आएको उक्त विमानस्थल पटक पटक खुल्ने र बन्द हुने गरिरहेको छ । एयरपोर्टको धावनमार्ग ७ सय ५० मिटर लम्बाई र ३० मिटर मात्रै चौडाई हुँदा सानो जहाज मात्रै बस्दै आएको छ ।


सानो जहाज बस्दा ९ हजारको हाराहारीमा भाडा तिर्नुपर्ने अबस्था छ । यदि धावनमार्ग विस्तार गरे ठूलो जहाज बस्न सक्ने र सस्तो भाडामा दाङ–काठमाडौं आवतजावत गर्न सकिन्छ ।

त्यस अवसरमा पार्टीका केन्द्रीय सल्लाहकार शेसुराम भण्डारी,प्रदेश कमिटि सदस्य भिमबहादुर वली,तुलसीपुर खानेपानीका उपाध्यक्ष सिताराम शर्मा, पार्टीका तुलसीपुर नगर उपाध्यक्ष यज्ञबहादुर केसीलगायतको सहभागिता रहेको थियो ।