
दाङ, २८ भदौ ।
राप्ती गाउँपालिका–२ का श्यामेश चौधरीले नेपाली कांग्रेस पार्टी परित्याग गरी पुनः कम्युनिष्ट पार्टीमा आबद्ध भएको घोषणा गरेका छन्।
चौधरीले शनिबार प्रेस वक्तव्य जारी गर्दै २०८२ को प्रतिनिधिसभा निर्वाचनका क्रममा आफू नेपाल कम्युनिष्ट पार्टीको प्रदेश समिति सदस्य तथा राप्ती गाउँपालिकाको इन्चार्ज रहेको उल्लेख गरेका छन्। निर्वाचन क्षेत्र नं. १ को उम्मेदवार छनोटपछि असन्तुष्ट भई भावनात्मक आवेगमा नेपाली कांग्रेसमा प्रवेश गरेको उनले बताएका छन्।

उनले कांग्रेस परित्याग गरी समाज परिवर्तनका लागि आफूले गरेको योगदान र बलिदानलाई स्मरण गर्दै आफ्नो वर्गप्रति निष्ठावान रहने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, कम्युनिष्ट पार्टीको विचार, सिद्धान्त र विधानलाई आत्मसात गर्दै विगतका कमजोरी सच्याउने प्रतिबद्धतासहित पुनः गौरवशाली कम्युनिष्ट पार्टीमा आबद्ध भएको घोषणा गरेका हुन्।
चौधरीले आगामी दिनमा कम्युनिष्ट आन्दोलन र समाज परिवर्तनका पक्षमा सक्रिय रहने बताएका छन्।



लाइभदाङ । २८ भाद्र २०८३, आईतवार ०६:०८ बजे