तराई क्षेत्रमा आज होली पर्व मनाइँदै

काठमाण्डौ, ४ चैत ।

नेपालको तराई क्षेत्रमा आज होली पर्व मनाइँदै छ । हिजो पहाडी तथा हिमाली जिल्लामा होली पर्व मनाइएको थियो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिएर आउने होली पर्वमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । होली पर्वको अवसरमा सरकारले आज तराईका जिल्लामा सार्वजनिक बिदा दिएको छ । कोरोना सङ्क्रमणको जोखिम कम भएको कारण यस वर्षको होलीमा विषेश उल्लास छ ।


यसअघिका दुई वर्ष कोरोना सङ्क्रमणको कारण होली पर्व खल्लो भएको थियो । गृहमन्त्रालयले होलीमा कसैको इच्छा विपरित जबर्जस्ती रंग नदल्न, लोला नहान्न आग्रह गरेको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाममा होलीलाई शान्त र मर्यादित बनाउन मासु तथा मदिराको विक्री वितरणमा स्थानीय प्रशासनले रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले विज्ञप्ति जारी गर्दै हिजो र आज जनकपुरधाम क्षेत्रमा मासु तथा मदिरा बिक्रीवितरण तथा सेवन निषेध गरिएको जानकारी दिएको हो ।