पल शाहलाई नवलपरासी लगियो

नाबालिका जबर्जस्ती करणीको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका अभिनेता पल शाहलाई मंगलबार गैँडाकोट लगिएको छ । शाहविरुद्ध पूर्वी नवलपरासीमा पनि जबर्जस्ती करणी गरेको अभियोगमा जाहेरी परेको थियो ।

जाहेरी परेको पत्र लिएर प्रहरी दमौली आएपछि शाहलाई मंगलबार गैँडाकोट पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले जानकारी दिए । ‘पूर्वी नवलपरासीमा पनि जाहेरी परेकाले अनुसन्धानका लागि त्यहाँ लगिएको हो,’ उनले भने । ‘शाहलाई गैँडाकोट लगिए पनि तनहुँ प्रहरीले पनि अनुसन्धान गर्छ ।’


पल शाहविरुद्ध १७ वर्षीय नाबालिगलाई जबर्जस्ती करणी गरेको जाहेरी जिल्ला प्रहरी कार्यालय तनहुँमा परेको थियो । ११ फागुनमा पीडितका परिवारले नायक शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दिएका थिए । शाह आइतबार प्रहरी कार्यालयमा आफैँ उपस्थित भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएपछि पलका समर्थकहरूले तनहुँ प्रहरी कार्यालयअगाडि केही दिन हुलहुज्जतसमेत गरेका थिए ।