सल्यान, २४ फागुन ।
पश्चिम नेपालको कर्णालीमा अझै पनि यथावत् रहेको ‘जारी प्रथा’ को विषयलाई समेटेर तयार गरिएको चलचित्र ‘बुलाकी’को फस्ट लुक सार्वजनिक गरिएको छ । ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फिल्म ‘बुलाकी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको हो । अधिकांश छायांकन कर्णाली प्रदेशको डोल्पा, रुकुम र जाजरकोटमा गरिएको यस फिल्मको फस्ट लुकमा अभिनेत्री सुरक्षा पन्त फरक लुक्समा देखिएकी छिन् । बुलाकीमा मुख्य भुमिका पनि उनको नै रहेको बताइएको छ ।
लक्ष्मण सुनारको निर्देशन रहेको ’बुलाकी’ मा सुरक्षासँगै नरेन खड्का र विराज विष्ट मुख्य भूमिकामा रहेका छन् । फिल्मको टिजर र रिलिज मिति भने सार्वजनिक गरिएको छैन । अव छिटै टिजर र रिलिज मिति सार्वजनिक गरिने अभिनेता विराज विष्टले जनाएका छन् । यो चलचित्रको निर्माण कम्पनी छत्रेश्वरी म्यानेजमेन्ट प्रालि हो ।
स्व. मोति विष्टको प्रस्तुति र टोपेन्द्र विष्ट निर्माता रहेको फिल्ममा प्रकाश कँडेल, रमेश बुढाथोकी, सरस्वती खत्री, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइबा,सोनु सेढाइ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियार लगायतको अभिनय रहेको छ । शिव ढकालले छायांकन गरेको फिल्ममा गोविन्द मधुर आचार्य, श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत रहेको छ ।
५० दिन लगायर सुटिङ गरिएको यस चलचित्रमा निकै मिहेनत गरिएको भन्दै अभिनेता विष्टले दर्शकहरुको साथ, सहयोग र मायाको अपेक्षा गरेका छन् ।।
लाइभदाङ । २४ फाल्गुन २०७८, मंगलवार १८:५५ बजे