दाङ
२१ फागुन / खानेपानी स्थानीय तहको एकल अधिकारको सूचिमा छ । तर,अझै पनि स्थानीयले खानेपानीको व्यबस्थापनकालागि ऐन निर्माण गर्न सकेका छैनन् । पानी जस्तो संबेदनशील क्षेत्रमा अहिलेसम्म पनि ऐन,नीति निर्माण नहुनु दुखद भएको नेपाल नगरपालिका संघका कार्यक्रम ब्यबस्थापक उमाशंकर यादवले बताए ।‘खानेपानी संवेदनशील क्षेत्र हो’,उनले भने‘त्यही भएर पनि स्थानीय तहलाई एकल अधिकार दिएको हो, तर, यसलाई स्थानीय तहले पनि पूर्णता दिन सकिएको छैन ।’
तुलसीपुर उपमहानगरपालिकाले पनि अझै पनि खानेपानीकालागि भनेर छुट्टै ऐन बनाउन सकेको छैन । खानेपानी जस्तो क्षेत्रलाई कतै स्वास्थ्यसंग जोडेर, कतै सरसफाईसंग जोडर, कतै वातावरणसंग जोडेर लिने गरिएको छ । उनले खानेपानीलाई नै प्राथमिकता दिएर ऐन,नीति निर्माण गनुपर्ने उनको भनाई थियो ।‘शिक्षा, स्वास्थ्य, सामाजिकलगायतका आफ्नै समितिहरु हुन्छन्’,उनले भने‘तर, खानेपानीको आफ्नै समिति समेत छैन ।’ उपमहानगरपालिकाले सामाजिक, वातावरण र स्वास्थ्य शाखाले संयुक्त रुपमा खानेपानीलाई हेर्ने गरेको छ ।
त्यस अवसरमा तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सचिब सेवकराम भण्डारीले विषयगत समिति नहुँदा समस्या भएको बताए । उनका अनुसार त्यसले गर्दा पनि जनताले कस्तो पानी खान बाध्य छन्, धारा कति छन्,लगायतका कुरामा स्थानीय सरकार जानकार नभएको बताए । उनले खानेपानीलाई स्थानीय सरकारले कुनै चासो नदिएको जस्तो अनुभूति भएको समेत बताए । त्यस अवसरमा संस्थाका उपाध्यक्ष सिताराम शर्माले विषयगत तालीम पनि खानेपानीका पदाधिकारीलाई नदिएर नगरकै कर्मचारी तथा अन्य ब्यक्तीले लिने गरेको भन्दै यसले खानेपानीको गुण्स्तर बृद्धि हुन नसक्ने बताएका थिए । अहिले पनि खोलाकै पानी खुवाउन बाध्य भएको र त्यो पानीले पनि बजारलाई पु¥याउन नसकिएको उनको भनाई छ ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले अझै पनि खानेपानी स्थानीय सरकारलाई हस्तान्तरण हुन नसकेको बताए । त्यसले गर्दा पनि यहाँका खानेपानी संस्थाहरुले स्थानीय सरकारसंग कुनै समन्वय हुन नसकेको बताए । अहिले पनि स्थानीय सरकारसंग समानान्तर सरकार जस्तो ब्यबहार खानेपानी संस्थाहरुले गर्ने गरेको समेत उनको भनाई थियो ।
मुलुक संघीयतामा गएपनि अझैपनि पुरानै ऐन छ । संसोधन पनि नभएको र नयाँ ऐन पनि निर्माण हुन नसकेकाले पनि अझै खानेपानी स्थानीय तहमा हस्तान्तरण हुन नसकेको उनको भनाई थियो ।
स्थानीय तह खानेपानी सरसफाई तथा स्वच्छता क्षेत्रगत सुशासन सुदृढिकरण कार्यक्रममा उनीहरुले यस्तो बताए । नेपाल नगरपालिका संघको आयोजना र युनिसेफको सहकार्यमा उक्त कार्यक्रम भएको हो ।
लाइभदाङ । २१ फाल्गुन २०७८, शनिबार १३:२५ बजे