राप्ती गाउँपालिकाको पहिलो त्रैमासिक प्रगति समीक्षा सम्पन्न

तुल बहादुर कवँर मगर
मसुरिया, ११ मंसिर ।
दाङको राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासिक प्रगति समीक्षा कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।

चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका विकास निर्माण, सेवा प्रवाह तथा प्रशासनिक कार्यसम्पादनको अवस्था मूल्याङ्कन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चाैधरी, प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाह, कार्यपालिका सदस्य, विषयगत शाखा प्रमुख, वडा सचिव तथा कर्मचारीहरूको सहभागिता रहेको कार्यक्रममा शाखा तथा वडाबाट पहिलो त्रैमासिक अवधिमा भएका भौतिक तथा वित्तीय प्रगति, चालु तथा सम्पन्न योजनाको अवस्था, सेवा प्रवाह र कार्यान्वयनका क्रममा देखिएका समस्या तथा चुनौतीबारे प्रतिवेदन प्रस्तुत गरिएको थियो।

कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष कमलापति चौधरीले विकास निर्माण तथा सेवा प्रवाहसम्बन्धी काम निर्धारित लक्ष्य, मापदण्ड र समयसीमाभित्र सम्पन्न गर्न सम्बन्धित सबैलाई निर्देशन दिनुभयो।

समीक्षा कार्यक्रमलाई पालिकाको कार्यसम्पादनको ऐनाका रूपमा उल्लेख गर्दै उहाँले पहिलो त्रैमासिक अवधिमा धेरै सार्वजनिक बिदा परेका कारण अपेक्षित प्रगति हासिल हुन नसकेको बताउनुभयो। अब भने वार्षिक कार्यक्रम तथा योजनालाई तीव्र गतिमा कार्यान्वयनमा लैजानुपर्ने उहाँको भनाइ थियो।


उहाँले तीनै तहका सरकारबीच सहकार्य र सहअस्तित्वको भावनासहित काम गर्नुपर्ने उल्लेख गर्दै प्रक्रियागत समस्याका कारण ढिलाइ भएका कामलाई आवश्यक समन्वय गरी छिटो अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

नागरिकको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रम तथा योजनालाई प्राथमिकतामा राख्दै वडा, शाखा र सरोकारवाला निकायबीच समन्वय कायम गर्नुपर्ने बताउनुभयो। साथै, समीक्षा कार्यक्रमले वास्तविक कार्यसम्पादन अवस्था उजागर गर्ने भएकाले देखिएका कमजोरी समयमै सुधार गरी नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहले चालु आर्थिक वर्षको निर्धारित लक्ष्य प्राप्तिका लागि योजना तथा कार्यक्रम समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो। उहाँले शाखागत समन्वय, नियमित अनुगमन तथा वित्तीय अनुशासन कायम गर्दै जिम्मेवारीअनुसार कार्यसम्पादन गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो।

समीक्षा कार्यक्रमबाट पहिचान भएका चुनौती तथा कमजोरीलाई सुधार गर्दै आगामी दिनमा पालिकाको समग्र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सबै कर्मचारी प्रतिबद्ध भएर लाग्नुपर्ने उहाँको भनाइ थियो।

राप्ती गाउँपालिकाले विकास निर्माण तथा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यले नियमित रूपमा त्रैमासिक प्रगति समीक्षा कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।