राप्तीमा नसर्ने रोगको स्क्रिनिङ अभियान तीव्र: दोस्रो दिन २ सय ३५ जनाको स्वास्थ्य परीक्षण

तुलबहादुर कवँर मगर
सिसहनियाँ, १ फागुन।
दाङको राप्ती गाउँपालिकामा सञ्चालन भइरहेको समुदायस्तरको नसर्ने रोग सम्बन्धी स्क्रिनिङ तथा जनचेतना अभियान दोस्रो दिन पनि उल्लेखनीय सहभागितासहित सम्पन्न भएको छ।

अभियानको दोस्रो दिन शुक्रबार वडा नं. ७ स्थित बड्की सिसहनियाँ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजित शिविरमा १ सय ५९ महिला र ७६ पुरुष गरी कुल २ सय ३५ जनाले स्वास्थ्य परीक्षण गराएका छन्।

“समयमै नसर्ने रोग जाँच गराऔं, स्वस्थ र दीर्घ जीवन बाँचौं” भन्ने मूल नारासहित गाउँपालिकाले अभियानलाई व्यापक रूपमा अघि बढाएको छ।

कार्यक्रमको औपचारिक सुरुआत बिहीबार वडा नं. ६ स्थित पत्थरगढवा सामुदायिक स्वास्थ्य इकाईबाट गरिएको थियो।

शिविरमा सहभागी नागरिकलाई नसर्ने रोगका प्रकार, कारण, लक्षण तथा रोकथामका उपायबारे जानकारी दिइनुका साथै स्वस्थ जीवनशैली अवलम्बन गर्ने तरिकाबारे सचेतना समेत प्रदान गरिएको गरिएको छ।

साथै मधुमेह र उच्च रक्तचाप परीक्षण, मिर्गौला रोगको प्रारम्भिक पहिचानका लागि पिसाब परीक्षण, उचाइ–तौलका आधारमा बीएमआई मापन, आवश्यक परामर्श, उपचार तथा प्रेषण सेवा समेत उपलब्ध गराइएको स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिनुभयो।


गाउँपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय दाङको समन्वयमा सञ्चालन भई रहेको उक्त अभियान ३० वर्षभन्दा माथिका नागरिकलाई लक्षित छ।

स्वास्थ्य शाखा प्रमुख राउतका अनुसार पछिल्लो समय उच्च रक्तचाप, मधुमेह, मिर्गौला तथा क्यान्सरजस्ता नसर्ने रोगको दर बढ्दो रहेकाले समयमै परीक्षण र जनचेतना अभिवृद्धि गर्नु आवश्यक भएको हो।

पहिलो चरणअन्तर्गत पाँच वटा वडामा कार्यक्रम सञ्चालन गरिने र त्यसपछि क्रमशः सबै वडामा विस्तार गरिने गाउँपालिकाले जनाएको छ।

जस अन्तर्गत फागुन २ गते वडा नं.५ स्थित राप्ती आधारभूत अस्पताल कालापानी, फागुन ४ गते वडा नं. ८ को सामुदायिक बहुउद्देश्यीय भवन पिपरी र फागुन ५ गते वडा नं. ४ स्थित मौरीघाट सामुदायिक स्वास्थ्य इकाईमा सञ्चालन गरिनेछ।

अभियानमार्फत नागरिकलाई घरआँगनमै स्वास्थ्य परिक्षण सेवा प्रदान तथा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।