विद्यार्थी भर्ना गर्दा जन्मदर्ता अनिवार्य गर्न विद्यालयलाई घोराही उप–महानगरपालिकाको निर्देशन

विमल योगी,
दाङ,१५ चैत्र ।
घोराही उप–महानगरपालिकाले आगामी शैक्षिकसत्र देखी विद्यार्थी भर्ना गर्दा जन्मदर्ता अनिवार्य गर्न निर्देशन दिएको छ । सरकारी तथा निजि विद्यालयले भर्ना गर्दा जन्मदर्ता नखोज्दा धेरै बालबालिकाको जन्मदर्ता नहुने भएकाले आगामी शैक्षिकशत्र देखी यसलाई अनिवार्य गर्न निर्देशन दिइएको हो ।

घोराही उप–महानगरपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको आयोजनामा घोराही ७ सौडियारमा आज आयोजित व्यक्तिगत घटनादर्ता तथा सामाजिक सुरक्षा सम्वन्धि नागरिक सचेतना कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरेले यस्तो निर्देशन दिनुभएको हो । यसका लागि घोराही उप–महानगरपालिकाले सवै सरकारी तथा निजि बिद्यालयलाई परिपत्र गर्ने तयारी गरेको उहाँले बताउनुभयो ।


वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै घिमिरेले ३५ दिनभित्रै जन्मदर्ता गराउने र सुरक्षित प्रसुती सेवा लिनका लागि उपमेयर खुत्रुके बचत कार्यक्रम मार्फत एक हजार रुपैया प्रोत्साहन दिने गरिएको भन्दै व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा सम्वन्धि अभियान सफल बनाउन सरोकारवालाको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

कार्यक्रममा सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखा प्रमुख दिवाकर योगीले जन्मदर्ता ३५ दिनभित्रै गर्ने,बिद्यालय भर्नामा जन्मदर्ता अनिवार्य बनाउने,बहुबिवाह र बालविवाहलाई शुन्यमा झार्ने,बसाईसराई गर्दा अनिवार्य घटना दर्ता गरेर मात्रै गर्ने,दोहोरो घटना दर्ता तथा सामाजिक सुरक्षा भत्तालाई शून्यमा झार्ने,सामाजिक सुरक्षा भत्ताको दर्ता,नविकरण,लगत कट्टा,बैंक खाता सञ्चालन लगायतका बिषयमा जानकारी दिनुभएको थियो । शाखाका एम. आई.एस.अपरेटर बिराज अधिकारीले सहजीकरण गरेको कार्यक्रम समापनका अवसरमा मावि सौडियारका प्रधानाध्यापक ज्ञानेन्द्र गौतम,महिला स्वास्थ्य स्वयंसेविका अश्मिता अधिकारी लगायतले बोल्नुभएको थियो ।

स्थानीय शिक्षक,वडाका जनप्रतिनिधि तथा कर्मचारी,स्वास्थ्यकर्मी,महिला स्वास्थ्य स्वयंमसेविका लगायत ३० जनाको सहभागिता रहेको थियो ।