सरसफाइ डिजिटल अवार्ड प्रतियोगिताका भिडियो सार्वजनिक गरिँदै: सेयर र भ्युजको आधारमा उत्कृष्ट छनोट गरिने

भालुबाङ,१० फागुन।
दाङको राप्ती गाउँपालिकाले सञ्चालन गरेको सरसफाइ डिजिटल अवार्ड अन्तर्गत प्राप्त भिडियोहरू भोलि सोमबार सार्वजनिक गरिने भएको छ।

राप्ती गाउँपालिकाको आधिकारिक फेसबुक पेजमार्फत ती भिडियोहरू सार्वजनिक गरिने गाउँपालिकाले जनाएको छ। फोहोर व्यवस्थापनमा सुधार ल्याउने, प्लास्टिकको प्रयोग घटाउने तथा सरसफाइसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

सरसफाइका असल अभ्यास, स्थानीय पहल तथा सन्देशमूलक गतिविधि समेटिएका भिडियो निर्माणका लागि गाउँपालिकाले गत कार्तिक महिनामा सार्वजनिक सूचना जारी गर्दै तीन महिनाको समयावधि तोकेको थियो। सो अवधिमा विभिन्न व्यक्ति तथा संस्थाबाट गरी जम्मा ७ वटा भिडियो प्राप्त भएको खानेपानी तथा सरसफाइ शाखा प्रमुख गीता चौधरीले जानकारी दिनुभयो।

प्राप्त सबै भिडियोहरू सार्वजनिक गरिने र तीमध्ये सामाजिक सञ्जालमा प्राप्त सेयर र भ्युजको आधारमा प्रथम, द्वितीय र तृतीय छनोट गरिने जनाइएको छ। छनोटमा पर्ने सहभागीलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ।


गाउँपालिकाले “राप्ती गाउँपालिका सरसफाइ रनिङ शिल्ड सञ्चालन कार्यविधि, २०८२” निर्माण गरेरै कार्यक्रम सञ्चालन गरेको हो। कार्यविधि अनुसार प्रतियोगितामा सहभागी भिडियोहरू कम्तीमा ३० सेकेन्ड र बढीमा ३ मिनेट अवधिको हुनुपर्ने मापदण्ड तोकिएको थियो।

भिडियोमा घर–आँगनको सरसफाइ, सडक तथा नालीको नियमित सफाइ, कुहिने र नकुहिने फोहोरको वर्गीकरण, प्लास्टिकका विकल्पको प्रयोग तथा सामुदायिक सरसफाइ अभियानमा स्थानीय सहभागिताजस्ता विषयवस्तु समेट्न सकिने व्यवस्था गरिएको छ। साथै, भिडियो स्पष्ट, प्रभावकारी तथा स्थानीय भाषा, संस्कृति र जीवनशैली झल्किने खालको हुनुपर्नेमा जोड दिइएको छ।

डिजिटल माध्यममार्फत सञ्चालन गरिएको यस प्रकारको कार्यक्रमले सरसफाइप्रति नागरिकको सहभागिता र चेतना अझ सशक्त हुने विश्वास गाउँपालिकाले व्यक्त गरेको छ।