सहकारीले महिलाहरुको क्षमता विकास गरेको छ : उपप्रमुख योगी

लमही, २१ पुष । लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले सहकारीहरु नाफा भन्दा पनि सेवामुखी हुनु पर्ने बताउनु भयो । मनकामना महिला विकास बचत तथा ऋणसहकारी संस्थाको २१ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशन कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो ।

केहि वर्ष अगाडीसम्म महिला दिदिबहिनीहरुले आफ्नो नाम समेत भन्न सक्ने अवस्था थिएन, सहकारीमा जोडिएपछी क्षमता अभिवृद्धि भएको छ, सहकारीमा आवद्ध भएपछी महिलाहरुको हक हितका सवालमा उनिहरु चनाखो हुँदै गएका छन” उपप्रमुख योगीले भन्नू भयो ।

सहकारीले महिलाहरुको दैनिकी जिविको पार्जनमा समेत टेवा पुर्याएको छ, आय आर्जनको माध्यम बनेको छ, धेरै कुराहरुको ज्ञान र सीप हासिल गर्न सकेका छन”- उहाँले भन्नू भयो ।

कार्यक्रममा लमही नगरपालिकाका प्रशासन शाखा तथा सहकारी शाखा प्रमुख महेश थापा, हरियाली इकाई समितिका सदस्य दीपा खत्री, पत्रकार श्रवण बस्नेत, पम्फा चौधरी, देउखुरी साहित्य तत्जा सांस्कृतिक मञ्चका सल्लाहकार निम बहादुर थापा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।


वार्षिक प्रतिवेदन सचिव चित्रा चौधरी र कोषाध्यक्ष बिजया लक्ष्मी आरसीले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

मनकामना महिला विकास बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विजया खड्काले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण शेयर सदस्य योगमाया शाहीले गर्नु भएको थियो ।

संस्थाले देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङलाई १० हजार १ सय ५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थाको बन्दसत्रले आजै नयाँ कार्यसमिति चयन गर्ने छ ।