एमसिसी संसदमा टेबुल हुने

अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा टेबुल हुने भएको छ। सत्ता गठबन्धनको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले एमसिसी संसदमा टेबुल हुने बताए।

शीर्ष नेताको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कुनै पनि विधेयक सरकारको तर्फबाट सदनमा टेबुल गर्नु सैद्धान्तिक हिसाबले स्वाभाविक प्रक्रिया भएतापनी हाल लामो समय देखि सदन अबरुद्ध भएको र अरु कुनै पनि विधेयक टेबुल नभएको अवस्थामा सभामुखलाई एमसिसी टेबुल गर भन्नु उपयुक्त नहुने धारणा राखेका थिए।

शीर्ष नेताहरुको फरक फरक धारणा आएपछि आ(आफ्नो विचार अनुसार सदनमा नै छलफल गर्ने समझदारी बैठकमा भएको छ। उनले यदी सरकारले एमसिसी टेबुल गरि छाड्ने हो भने प्रस्तावलाई छलफलको लागि समितिमा पठाउन आग्रह गरेका थिए।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी टेबुल गरेर प्रक्रियामा लैजाने अडान राखेका थिए। शनिबार बसेको नेकपा एकीकृत समाजवादीको बैठकले पनि एमसिसी सदनमा पेश गर्न दिने निर्णय गरेको थियो।


५० करोड अनुदान सहयोगको एमसिसी सम्झौता १६ फागुनभित्र संसदबाट अनुमोदनका लागि अमेरिकाले कूटनीतिक दबाब दिइरहेको छ। ३० असार ०७६ मा तत्कालिन केपी ओली नेतृत्वको सरकारले एमसिसी अनुमोदनका लागि संसद् सचिवालयमा दर्ता गरेको थियो। तर, सम्झौताका विषयवस्तुलाई लिएर उत्पन्न विवादका कारण टेबुल हुन सकेको छैन।

आज दिउँसो १ बजे संसद् बस्दै छ। त्यसअगाडि साढे ११ बजे सभामुख अग्नि सापकोटाले कार्य व्यवस्थाको बैठक बोलाएका छन्।