पहिरोमा पुरिएर रोल्पामा एक जनाको मृत्यु

रोल्पा, २ साउन ।
अविरल वर्षापछि आएको पहिरोमा पुरिएर रोल्पामा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा परिवर्तन गाउँपालिका–४, पाछावाङस्थित सल्लाबोट निवासी ५७ वर्षीय देउप्रसाद घर्ती रहेका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार शनिबार बिहान हिँडिरहेका बेला माथिबाट खसेको पहिरोले पुरिँदा उनको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुले शुक्रबार रातिदेखि परेको निरन्तर वर्षाका कारण पहिरो खसेको र बिहान करिब ५ः३० बजे इलाका प्रहरी कार्यालय पाछावाङमा घटनाको सूचना प्राप्त भएको जानकारी दिए।

सूचना प्राप्त हुनासाथ प्रहरी नायब निरीक्षक नरसिंह खत्रीको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। टोली बिहान ७ः२० बजे घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ।


घटनास्थल इलाका प्रहरी कार्यालय पाछावाङबाट करिब पाँच किलोमिटर उत्तर तथा जिल्ला सदरमुकाम लिबाङबाट करिब ६० किलोमिटर पश्चिममा पर्छ।

प्रहरीले शवको पहिचान गरी पोस्टमार्टमका लागि आवश्यक प्रक्रिया पूरा गर्न पीडित परिवारलाई सहयोग गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, लगातारको वर्षासँगै रोल्पासहित पहाडी जिल्लामा पहिरोको जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।