डेढ महिनापछि बस्यो टरिगाउँमा जहाज

दीपक बोहरा
तुलसीपुर,२६ भदौ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ स्थित टरिगाउँ विमानस्थलमा डेढ महिना पछि जहाज अवतरण गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण दाङका बरिष्ठ अधिकृत प्रदीप भुषालका अनुसार विहीबार डेढ महिनापछि काठमाडौंबाट दाङ जहाज अवतरण गरेको हो । नेपाल एयरलाईन्सको १९ सिटे जहाजमा विहीबार काठमाडौंबाट ८ जना र दाङबाट ४ जना यात्रुले सेवा लिएका थिए ।

मौसमका कारण अनियमित भएको दाङ–काठमाडौं हवाई सेवा अब भने नियमित हुने बरिष्ठ अधिकृत भुुषालको भनाई  छ । “मौसमले सेवा अनियमित थियो”,उहाँले भन्नुभयो “अब नियमित हुन्छ ।” उहाँका अनुसार अब हप्तामा आईतबार, मंगलबार, विहीबार र शुक्रबार गरि चार दिन सेवा प्रदान गरिनेछ । हाल हवाई भाडा १२ हजार रहेको छ । हवाई सेवा विहान ९ देखि ११ बजेको बीचमा प्रदान हुने समेत भुषालले बताउनुभयो ।


टरिगाउँमा हाल ७५० मिटर मात्रै धावन मार्ग छ । जहाँ १९ सिटे जहाज मात्रै बस्न सक्छ । यसरी सानो जहाज बस्ने र त्यो पनि अनियमित हुने भएकाले यस क्षेत्रका यात्रुहरु समेत नेपालगञ्ज वा भैरहवा जानु पर्ने अबस्था छ । उक्त बिमानस्थलमा ठूला जहाज बस्ने गरि धावनमार्ग विस्तारकालागि पटक–पटक आवाज उठ्दै आएको भएपनि त्यसले सार्थकता पाएको छैन । २०११ सालमा स्थापना भएको उक्त विमानस्थल विस्तार भने हुन सकेको छैन । चालु बर्षकालागि बिमानस्थल स्तरबृद्धिकालागि भनेर २५ करोड बजेट बिनियोजन भएको छ ।