दाङलाई प्रशासनिक राजधानी बनाऔंः कमल सुवेदी

दाङ,२५ भदौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कमल सुवेदीले दाङ उपत्यकालाई संघ सरकारको प्रशासनिक राजधानी बनाउन प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन् ।

सांसद सुवेदीले प्राकृतिक विपद्बाबाट बच्नका लागि जोखिमयुक्त बस्तीको जोखिम नक्सांकन गर्नुपर्ने र जमिनहरू कति बस्न लायक छन् यकिन गरेर नीति बनाउनुपर्नेमा जोड दिए ।

यसक्रममा दाङलाई संघ सरकारको प्रशासनिक राजधानी बनाउने प्रस्ताव राखेका हुन् ।


‘एउटा मेरो प्रस्ताव पनि छ । यो काठमाडौं राजधानी अहिले छ । विपद्को हिसाबले हेरौं वा अन्य जनघनत्वको हिसाबले हेरौं,’ सांसद सुवेदीले भने, ‘यसलाई पनि अब पुनर्विचार गर्ने हो कि ’

उनले अगाडि थपे, ‘एसियाकै ठूलो उपत्यका छ, दाङ उपत्यका । त्यहाँ प्रशासनिक राजधानीको लागि भविष्यमा एउटा अध्ययन अनुसन्धानको प्रणालीको पनि विकास गरौं ।’

वीरगञ्जलाई औद्योगिक राजधानीको रूपमा हेर्न सकिने पनि उनले बताए ।

सुवेदी दाङ–३ बाट निर्वाचिन प्रतिनिधिसभा सदस्य हुन् ।