
आलोक भावुक
गढवा, २० भदौ ।
भोटेकोशी नदीमा आएको प्राकृतिक विपत्तिबाट प्रभावित बाढीपीडित परिवारको सहयोगका लागि श्री प्रतिष्ठा एकेडेमी गढवा १ कालाकाटे देउखुरी दाङले आर्थिक सहयोग गरेको छ।
एकेडेमीका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको संयुक्त प्रयासमा संकलित रु। ६२ हजार ८५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा प्रदान गरिएको हो।
विपत्तिमा परेका दाजुभाइ तथा दिदीबहिनीहरूको पीडामा साथ दिने उद्देश्यले सहयोग रकम प्रदान गरिएको विद्यालयले जनाएको छ। विद्यालयका प्रिन्सिपल दिपक पोख्रेलले कठिन समयमा गरिने सहयोग र सहकार्य नै मानवताको साँचो पहिचान भएको बताउनुभयो।
उहाँले पीडामा परेका मानिसको आँसु पुछ्न गरिएको सानो सहयोगले पनि ठूलो आशाको किरण जगाउन सक्ने भन्दै विपत्तिको यस घडीमा सबैले आफ्नो क्षमताअनुसार सहयोगको हात बढाउनुपर्ने बताउनुभयो।
“सेवा, सहानुभूति र सहकार्य नै हाम्रो सबैभन्दा ठूलो मानव धर्म हो,’ प्रिन्सिपल पोख्रेलले भन्नुभयो। विद्यालय परिवारले प्राकृतिक विपत्तिबाट प्रभावित परिवारप्रति सहानुभूति व्यक्त गर्दै राहत तथा उद्धार कार्यमा सबैको साथ र सहयोग आवश्यक रहेको जनाएको छ।



लाइभदाङ । २० भाद्र २०८३, शनिबार २१:४३ बजे