आज मध्यम वर्षा, भोलि दिउँसोदेखि भारी वर्षा हुने

काठमाडौं, १७ असोज।
देशका अधिकांश स्थानमा शनिबार दिउँसोदेखि भारी तथा अति भारी वर्षा हुने मौसमविद्ले बताएका छन्। आज मध्यम तथा हल्का वर्षा हुने र शनिबारदेखि आइतबारसम्म भने भारी वर्षा हुने प्रक्षेपण गरिएको छ।

मौसमविद् विनोद पोखरेलका अनुसार उपत्यकामा ८ देखि १० घण्टासम्म भारी वर्षाको सम्भावना छ। शनिबारदेखि आइतबारसम्म भारी वर्षाको सम्भावना भएकाले शनिबार बेलुका विशेष सतर्कता अपनाउन जरुरी रहेको मौसमविद्को भनाइ छ।


मौसम पूर्वानुमान महाशाखाले पनि यसअघि मौसम बुलेटिन जारी गरी १७ असोजदेखि २० असोजसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका विभिन्न जिल्लामा मध्यमदेखि भारी वर्षाको जोखिम रहेकाले सचेतना अपनाउन भनेको छ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि यो चार दिनको अवधिमा अनिवार्यबाहेक अवस्थामा यात्रा नगर्न आग्रह गरेको छ।