चुनावमा असहयोगको आरोप लागेका चार कांग्रेस नेताले पाए सफाइ

दाङ, २० भदौ ।
२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै लागेको अनुशासन उल्लंघनको आरोपबाट दाङका कांग्रेस नेताहरु राजु खनाल, प्रचण्ड बिक्रम न्यौपाने, खगराज पाण्डे र प्रज्ञान न्यौपानेले सफाइ पाएका छन्। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले ती नेताहरुलाई यसअघि स्पष्टिकरण सोधेको थियो ।

यहि भदौ १८ गते खनाल, न्यौपाने, पाण्डेलाई पत्र पठाउँदै उनीमाथि लागेको आरोप बारे कांग्रेस केन्द्रिय अनुशासन समितीले छानबिन गरेर सफाई दिएको हो । अनुशासन समितिलाई आरोप लागेका नेताहरुले आफूविरुद्ध लगाइएको आरोप निराधार र असत्य भएको, पार्टीविरुद्धका गतिविधिमा संलग्न नभएको तथा पार्टीको नीति–निर्देशनअनुसार तोकिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै आएको भन्दै स्पष्टीकरण पेश गरेका थिए।


नेताहरूले पेश गरेको स्पष्टीकरण तथा सम्बन्धित मिसिलमा संलग्न कागजात अध्ययनपछि नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको भदौ १८ गते बसेको बैठकले उनीमाथि लगाइएको आरोपबाट सफाइ पाउने ठहर गरेको केन्द्रीय अनुशासन समितिका सचिव दिनेश थापामगरद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

आरोपबाट सफाइ पाउने व्यहोरासहितको जानकारी पत्रको बोधार्थ नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति र नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमितिलाई समेत पठाइएको छ। दाङ क्षेत्र नम्बर २ बाट किरण किशोर घिमिरे, क्षेत्र नम्बर ३ बाट दिपक गिरि र क्षेत्र नम्बर १ बाट योगेन्द्र चौधरी कांग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार भई चुनाब लडेका थिए ।