
आलोक भावुक
गढवा, १६ भदौ ।
गढवा गाउँपालिकाका वडा नम्बर ६ र ७ मा सञ्चालन गरिएको निःशुल्क आँखा चेकजाँच तथा उपचार शिविरबाट २२२ जना नागरिक लाभान्वित भएका छन्। दुई दिन सञ्चालन भएको शिविरमा आँखा परीक्षण गरिएकामध्ये २६ जनामा मोतियाबिन्दु पहिचान भएको छ। गढवा गाउँपालिकाको समन्वय तथा किभा फाउण्डेशनको सहयोगमा समुदायस्तरमै आँखा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। शिविरमा स्थानीय नागरिकको निःशुल्क आँखा परीक्षणसँगै आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो। भदौ १५ गते गढवा गाउँपालिका – ७ मानपुरमा सञ्चालन गरिएको शिविरमा १०३ जनाले आँखा परीक्षण गराएका थिए। परीक्षण गराउनेमध्ये ४३ पुरुष र ६० महिला रहेका थिए। सो क्रममा ११ जना मोतियाबिन्दुका बिरामी पहिचान भएका छन्।
त्यसैगरी, भदौ १६ गते वडा नम्बर ६ को वडा कार्यालयमा सम्पन्न शिविरमा ११९ जनाले आँखा परीक्षण गराएका छन्। जसमा ४१ पुरुष र ७८ महिला रहेका छन्। शिविरबाट १५ जना मोतियाबिन्दुका बिरामी पहिचान भएका छन्। तीमध्ये ८ पुरुष र ७ महिला रहेका छन्।
शिविरमा मोतियाबिन्दु पहिचान भएका बिरामीको SICS+PCIOL प्रविधिबाट आँखाको शल्यक्रिया तिलगंगा आँखा प्रतिष्ठानद्वारा सञ्चालित तिलगंगा आँखा सर्जिकल सेन्टर, सिसहनियामा निःशुल्क गर्ने व्यवस्था मिलाइएको छ। त्यस्तै, फेको प्रविधिबाट गर्नुपर्ने शल्यक्रिया पनि सहुलियत दरमा गरिने स्वास्थ्य शाखाले जनाएको छ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले आँखा स्वास्थ्य नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण स्वास्थ्य सेवा भएकाले गाउँपालिकाले समुदायमै पुगेर निःशुल्क आँखा परीक्षण तथा उपचारको व्यवस्था मिलाएको बताउनुभयो।
उहाँले आर्थिक अभाव वा अस्पतालसम्म पुग्न नसक्ने अवस्थाका कारण कुनै पनि नागरिक आँखा उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले गाउँपालिकाका सबै वडामा शिविर सञ्चालन गर्न लागिएको बताउँदै निःशुल्क सेवाको अधिकतम लाभ लिन स्थानीय नागरिकलाई आग्रह गर्नुभयो। उहाँले मोतियाबिन्दु पहिचान भएका बिरामीको शल्यक्रियासमेत निःशुल्क हुने व्यवस्था भएकाले यसलाई अवसरका रूपमा उपयोग गर्न आग्रह गर्नुभयो। गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चन्द्र चौधरीका अनुसार गाउँपालिकाको समन्वय, सहकार्य तथा किभा फाउण्डेशनको सहयोगमा गाउँपालिकाका ८ वटै वडामा क्रमशः निःशुल्क आँखा चेकजाँच शिविर सञ्चालन गरिँदैछ।
स्वास्थ्य शाखाले सार्वजनिक गरेको तालिकाअनुसार भदौ १७ गते वडा नम्बर ५, भदौ १८ गते वडा नम्बर ४, भदौ २२ गते वडा नम्बर ३, भदौ २३ गते वडा नम्बर २ र भदौ २४ गते वडा नम्बर १ मा शिविर सञ्चालन हुनेछ। सबै शिविर सम्बन्धित वडा कार्यालयमा सञ्चालन गरिने जनाइएको छ।
स्वास्थ्य शाखा प्रमुख चौधरीले शिविरमा निःशुल्क औषधि वितरण गरिनुका साथै मोतियाबिन्दु भएका बिरामीको SICS+PCIOL शल्यक्रिया सिसहनियास्थित तिलगंगा आँखा सर्जिकल सेन्टरमा निःशुल्क र फेको प्रविधिबाट गर्नुपर्ने शल्यक्रिया सहुलियत दरमा गरिने जानकारी दिनुभयो। गाउँपालिकाले आफ्नो पायक पर्ने वडा कार्यालयमा पुगेर आँखा परीक्षण गराई समयमै उपचार सेवा लिन सबै नागरिकलाई आग्रह गरेको छ।



लाइभदाङ । १६ भाद्र २०८३, मंगलवार १९:३५ बजे