नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

दाङ,५ चैत ।
नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते हुने भएको छ।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिटमा जित हात पार्दै बहुमत प्राप्त गरेको छ। रास्वपाले निर्वाचनअघि नै वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो। रास्वपाले शाहकै नेतृत्वमा सरकार गठनको तयारी गरिरहेको छ।

योसँगै रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहको चैत १३ गते प्रधानमन्त्री पदको शपथ ग्रहण कार्यक्रम निश्चित भएको छ।


सरकार गठनका विषयमा राजधानीको रोयल सिंगी होटलमा रास्वपा नेताहरूले छलफल गरेका छन्। छलफलपछि सांसदको शपथ लिएलगत्तै प्रधानमन्त्रीले शपथ ग्रहण लिने टुङ्गो लागेको हो।

‘आउँदो चैत १३ गते प्रधानमन्त्रीले शपथ ग्रहण गर्नुहुनेछ’, रास्वपाका एक शीर्ष नेताले सेतोपाटीलाई भने।

संघीय संसद सचिवालयले चैत १२ गते २ बजे सांसदहरूको शपथ ग्रहण कार्यक्रम राखेको छ। त्यसलगत्तै सरकार गठन गर्ने रास्वपाले निर्णय गरेको हो।